काठमाडौं, फागुन १
मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ । दोस्रो त्रैमासिक अवधिसम्म मेगाले ९५ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको हो । चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड दुई लाख खुद मुनाफा गर्न सफल भएको हो । जबकी आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रूपैंया मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा वृद्धि गर्न सफल भएको छ ।
२०७६ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ जुन २० प्रतिशतभन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशतभन्दा बढीको वृद्धि हो । बैंकका देशभर एक सय ११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, एक सय १४ वटा एटीएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।