न्युयार्क । टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले ट्विटरको सञ्चालक समितिमा नबस्ने भएका छन् । केही दिनअघि मात्र चर्चित सामाजिक सञ्जालको ठूलो सेयर लगानीकर्ता बनेका मस्क ट्विटरको बोर्डमा जाने अड्कल काटिएको थियो । तर मस्कले ट्विटरको बोर्डमा नजाने निर्णय गरेको सीएनएनले जनाएको छ । ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।
सीईओ परागका अनुसार मस्क यही अप्रिल ९ बाटै बोर्डमा जाने कुरा भए पनि त्यही दिन बिहान मस्कले आफू बोर्डमा नबस्ने बताएका थिए । यो निर्णयको अग्रवालले प्रशंसा गरेका छन् । ट्विटरका एक प्रवक्ताले पनि मस्क बोर्डमा नबस्ने पुष्टि गरे । मस्कले नै यस्तो निर्णय गरेको बताइएको छ ।
भर्खरै मस्कले ट्विवटरको नौ प्रतिशतभन्दा धेरै सेयर किनेका थिए । हाल ट्विटरका उनी ठूला लगानीकर्ता भएका छन् । सोलगत्तै ट्विटरले मस्कलाई सन् २०२४ सम्म बोर्डमा लैजानलागेको थियो । तर मस्कले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् । यद्यपि मस्कले ट्विटरको सुधारका लागि परागसँग मिलेर काम गर्ने बतााएका छन् ।