काठमाडौं । मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकअनुसार कुल वस्तु निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेर एक खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव आठ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय चार दशमलव दुई प्रतिशत र २९ दशमलव एक प्रतिशतले वृद्धि भए पनि चीनतर्फको निर्यात भने ११ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढ्दा अलैँची, चिया जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को आठ महिनामा कुल वस्तु आयात भने ३८ दशमलव छ प्रतिशतले बढेर १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई दशमलव एक प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव एक प्रतिशत, ३६ दशमलव सात प्रतिशत र ७५ दशमलव चार प्रतिशतले बढेको देखिएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुनलगायतका वस्तुको आयात बढे पनि एमएस बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।
चालू आवको पछिल्लो आठ महिनामा कुल वस्तु व्यापारघाटा ३४ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ४७ अर्ब तीन करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।
विप्रेषण आप्रवाह एक दशमलव सात प्रतिशतले कमी, आठ महिनामा भित्रियो छ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ
विप्रेषण आप्रवाह अर्थात् वैदेशिक रोजगारीबाट प्राप्त आयमा एक दशमलव सात प्रतिशतले कमी आएको छ । सो अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा छ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँबराबरको विप्रेषण रकम भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह आठ दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह तीन प्रतिशतले कमी आई पाँच अर्ब २८ करोड कायम भएको राष्ट्र बैैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच प्रतिशतले बढेकोे थियो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति अर्थात् संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई दुई लाख २७ हजार नौ सय पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२ दशमलव नौ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ४० दशमलव नौ प्रतिशतले वृद्धि भई एक लाख ७८ हजार दुई सय ६२ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७० दशमलव दुई प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर दुई प्रतिशतले कमी आई सात खर्ब चार अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर सात दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
चालू खाता चार खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा चालू खाता चार खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३० करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा तीन अर्ब ८८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१ दशमलव एक प्रतिशतले कमी आई सात अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब एक करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब १७ करोडले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ ।
खुद सेवा आय ६७ अर्ब रुपैयाँले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा खुद सेवा आय ६७ अर्ब दुई करोडले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ३६ करोड रुपैयाँले घाटामा थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई सय २४ दशमलव चार प्रतिशतले वृद्धि भई १४ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ४७ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय एक सय छ दशमलव दुई प्रतिशतले वृद्धि भई ४६ अर्ब ८५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ३० अर्ब ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १८ अर्ब ४१ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कुल विदेशी मुद्राको सञ्चितिमा १६ प्रतिशतले गिरावट
कुल विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव तीन प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव पाँच प्रतिशतले कमी आई नौ अर्ब ५८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव दुई प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब पाँच करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेक संंस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा शून्य दशमलव नौ प्रतिशतले कमी आई एक खर्ब ५२ अर्ब ९५ करोड कायम भएको छ । २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव दुई प्रतिशत राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना चार दिनको वस्तु आयात र छ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७ दशमलव चार प्रतिशत, ५५ दशमलव छ प्रतिशत र २२ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२ दशमलव आठ प्रतिशत, ८४ दशमलव सात प्रतिशत र २७ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।