विराटनगर । लामो समयदेखि वित्तीय क्षेत्रमा रहेको तरलताको चरम अभाव, बढ्दो ब्याजदर तथा जारी युक्रेन–रुस द्वन्द्वका कारण अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई लिएर उद्योग संगठन मोरङले चिन्ता व्यक्त गरेको छ ।
उद्योग संगठन मोरङले एक विज्ञप्ति जारी गर्दै आन्तरिक एवं बाह्य परिस्थितीजन्य कारणहरूले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू सङ्कटको दिशामा उन्मुख भइरहेको बताएको छ । देशमा चलेको विषम यो परिस्थितिमा सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंकजस्ता नियमनकारी निकायहरूले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मुख्य संस्थाहरूबीच नै समन्वयको अभाव हुँदा अर्थतन्त्र थप जटिलतातर्फ जानेतर्फ संगठनले चिन्ता व्यक्त गरेको हो । तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिति तथा आयात निर्यात सहजीकरणका लागि नीतिगत निकाय र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा संगठनले जोड दिएको छ ।
अन्तर्राष्ट्रियरूपमा नै अर्थतन्त्रको अवस्था राम्रो नभएको यस संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकायका बीचमा देखा परेको असमझदारीले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने संगठनको भनाइ छ । नेपालले गर्ने अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्ने देखिएको भन्दै संगठनले बेलैमा सचेत भई उपयुक्त कदमहरू चाल्न आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज वृद्धि तथा वैदेशिक विनियम सञ्चितिको अभावमा कच्चा पदार्थलगायतको आयात प्रभावित भई उत्पादनमूलक उद्योगका क्षेत्रमा कठिनाइ उत्पन्न भइरेहको भन्दै संगठनले सरकारको ध्यानाकर्षण समेत गराएको छ । यो अत्यन्तै संमवेदनशील वर्तमान अवस्थामा सरकार तथा नियमनकारी निकाय थप गम्भीर भई एक–आपसमा प्रभावकारी समन्वयका साथ संकटको यथाशक्य समाधान खोज्नका लागि संगठनले अपिल समेत गरेको छ । संकटोन्मुख अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन निजी क्षेत्रका तर्फबाट सरकारलाई गर्नुपर्ने सहयोगका लागि उद्योग संगठन मोरङ सदैव तत्पर रहेको प्रतिबद्धता समेत प्रेस विज्ञप्तिमा जनाएको छ ।