दोलखा । अवैध जडीबुटी सुनाखरीसहित दोलखा तीन जना पक्राउ परेका छन् । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ बाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार बसको डिकीमा राखेर काठमाडौं लैजाँदै गरेको अवस्थामा भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित प्रहरी चौकी खरिढुङ्गा चेकपोस्टबाट प्रहरीले साढे आठ केजी अवैध जडीबुटी सुनाखरीसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गाडीधनी सहचालक गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुका २७ वर्षका दिपेन्द्र खड्का, चालक गौरीशंकर गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षका नारायणबहादुर कार्की र अवैध जडीबुटी गाडीमा राखी पठाउने विगु गाउँपालिका वडा नम्बर ५ का ५६ वर्षका नरबहादुुर श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए । बरामद गरेको जडीबुटीसहित तीनै जनालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइएको छ ।