लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उहाँ दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ ।
‘जोनसन र सुनाकलाई आज कारबाहीसम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो’, एक सरकारी अधिकारीले मंगलबार भने । देशभर कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागू भएको बेला सन् २०२० को मे २० मा उनले नियम उल्लंघन गरेको प्रहरीको भनाइ छ । प्रहरीले जरिवाना तिराउनुपर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाइ छ ।