काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशक पदमा नियुक्त गरेको छ । महासंघको चैत्र २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौँ बैठकले उनलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा समेत गरेका छन् । अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार महानिर्देशक अवस्थी यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष समेत भएका थिए । करिब दुई दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेका अवस्थीसँग संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभव समेत छ ।
नवनियुक्त महानिर्देशक अवस्थीसँग उद्योग, वाणिज्यसहित समग्र निजी क्षेत्रका विषयमा पनि निकै राम्रो अनुुभव रहेको महासंघले जनाएको छ । महानिर्देशक अवस्थीको यो अनुभवबाट आर्थिक व्यावसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघको छ ।