काठमाडौं । एनएमबी बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाडौंको रिजल्ट बेस फाइनान्सिङ परियोजनाअन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुलो वितरण गरेको छ । बैंकले प्राक्टिकल एक्सनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रूपमा काम गरेको थियो ।
परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुलो वितरण गरेर ग्रामीण भेगका जनताहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एक्सन परियोजनासँग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दी, बाग्लुङ, अर्घाखाँची, गुल्मी र स्याङ्जाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुलोहरू वितरण गरेको हो ।
बैंकको भ्यालु बेस बैंकिङको अवधारणाहरूमध्येको ‘नाफाभन्दा अघि मानिसहरूको बारेमा सोच्ने’ सिद्धान्तअनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्सनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरूसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।