लण्डन । बेलायतमा ३० वर्षयताकै उच्च महंगी भएको छ । बेलायती उपभोक्ता मूल्य गत महिना तीन दशकयता उच्च दरले बढेको तथ्यांक सार्वजनिक भएको हो । यसले अर्थमन्त्री ऋषि सुनक र प्रधानमन्त्री बोरिस जोन्सनमाथि दबाब सिर्जना गरेको छ ।
वार्षिक मूल्यवृद्धि दर मार्चमा सात प्रतिशत पुगेको छ । फेब्रुअरीमा ६.२ प्रतिशत रहेको थियो । यो दर मार्च १९९२ यताकै उच्च भएको बताइएको छ । त्यस्तै महिनागत तुलनामा भने यो सन् १९८८ मा अफिस फर नेशनल स्टाटिस्टिक्सले रेकर्ड राख्न थालेयताकै उच्च हो ।
बेलायतमा सवारीसाधनको इन्धनदेखि खाद्य र फर्निचर क्षेत्रको मूल्य बढेको छ । योसँगै बेलायतीहरुको घर खर्च लागत पनि बढेको छ ।