काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ । साथै सोही महामारीको कारण मानिसहरू लामो समयदेखि घुम्नबाट वञ्चित भएको र नयाँ–नयाँ भ्रमण गन्तव्यहरूको खोजीमा हुन्छन् । त्यसैले उक्त क्यालेन्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तव्यहरू फोक्सुन्डो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँचपोखरी, गोल्डेन धाप, देउढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् । यस क्यालेन्डरमा इमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरू भएको बैंकले जानकारी दिएको छ ।
नेपालको अतुलनीय प्राकृतिक सुन्दरताकै कारण देश–विदेशबाट लोकप्रिय भ्रमण गन्तव्यको रूपमा नेपाल परिचित छ । यस क्यालेन्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तव्यहरूले विद्यमान भ्रमण गन्तव्यमा मात्रै आफ्नो भ्रमणलाई सीमित नगरी नेपालको अन्य भ्रमण गन्तव्यहरूका बारेमा जानकारी दिनेछ भन्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।