काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकका अनुसार नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या दुई सय ७५ वटा पुगेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामीण क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
बैंकले मुलुकभर दुई सय ८८ वटा शाखा, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, दुई सय ५६ वटा एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।