काठमाडौं । नेपालमा लघु कर्जा बीमाको सुरुवात २०६४ सालतिर भएको हो तर सोभन्दा अगाडि पनि विभिन्न लघु वित्तीय संस्थाहरुले आफ्नो आवश्यकता महशुस गरी कर्जा लिने व्यक्तिको लघु बीमा भने गरेका थिए । विभिन्न लघुवित्त संस्थाहरुले आफूले कर्जा प्रदान गरेको सदस्यको मृत्यु हुँदा आफ्नो कर्जा लगानी नै असुरक्षित हुनसक्ने स्थितिको समाधानको लागि लघु बीमाको सहयोग लिएर ऋणी तथा संस्था दुवैलाई सुरक्षित गर्ने गरी योबीमा सेवाको सुरुवात भएको हो ।
यो बीमा योजना लघुवित्त संस्था मात्र नभई विभिन्न साना मझौला ऋण प्रवाह गर्ने सहकारी तथा विपन्न तथा दुर्गम क्षेत्रमा ऋण प्रवाह गर्ने वाणिज्यबैंकहरुले समेत प्रयोग गरेको देखिन्छ । मुख्यतया ऋण रकम सानो अथवा सामान्यतया पाँच लाखभन्दा कम हुने र उक्त ऋण कुनै पनि धितोविना प्रदान गरिने हुँदा ऋण तथा ऋणी सबैलाई आर्थिक जोखिमबाट उन्मुक्ति दिने उद्देश्यले लघु कर्जा बीमाको सुरुवात भएको हो । लघु कर्जा बीमा भन्ने नामले प्रचलित भएपनि यो बीमामा जीवन बीमा कम्पनीमार्फत ऋणीको कुनै पनि कारणले मृत्यु हुँदा हुने जोखिम वहन गरिने हो । साथै यो बीमा योजनाले दुर्घटनाको कारणले मृत्यु हुँदा दोब्बर रकम र कुनै पनि कारणले मृत्यु हुँदा निश्चित प्रतिशत रकम थप रकम प्रदान गरिन्छ जसलाई काजकिरिया खर्चको शीर्षकमा बीमा कम्पनीले प्रदान गर्दछ ।
कुनै पनि बीमितको मृत्यु हुँदा ऋण लिएको संस्थामा बाँकी रहेको रकम तिर्न र यदिबीमा रकम बाँकी ऋण रकमभन्दा बढी भएमा मृतक ऋणीको परिवारमा बीमाको रकम प्रदान गरिन्छ जुन सामान्यतया काजकिरिया खर्चको शीर्षकमा प्रदान गरिने रकमले गर्दा ऋण रकमभन्दा बढी हुने भएकोले परिवारमा समेत ऋणी सदस्यको मृत्यु हुँदा प्राप्त हुने हुन्छ । साथै दुर्घटनाको कारणले अंगभंग हुँदा वा पूर्ण वा आंशिक अशक्त हुँदा समेत यो योजनाले क्षतिपूर्ति प्रदान गर्दछ । यसरी विशुद्ध ऋणी ऋण र लघुवित्तको हितमा हुने गरी सुरुवात भएको कर्जा लघुबीमाको प्रतिहजार बीमा शुल्क सात रुपैयाँमा सुरुवात भएको थियो ।
सुरुवाती अवस्थामा यस किसिमको जोखिमको अनुभव पनि नभएको र विपन्न क्षेत्रमा मृत्युदर समेत उल्लेख्य भएकोले बीमाशुल्क पछिल्लो समयमा केही परिमार्जन भने भएको छ । यसरी मुख्यतः ऋणी सदस्यको बीमा हुने यो योजना जीवन बीमाको प्रकारको आधारमा भन्ने हो भने म्यादी जीवन बीमा नै हो जसमा कुनै पनि बचत वा बोनसको प्रावधान हुँदैन तर कम्पनीले बीमा समितितथा आफ्नो बीमांकीसँग लिएको योजनाको स्वीकृतिको आधारमा प्रतेक ऋणी सदस्यको व्यक्तिगत वा सदस्यहरुको सामुहिक योजनाकोरुपमा भने यो योजना बजारीकरण गरेको देखिन्छ । अर्थात एक सय सदस्यको बीमा गर्दा पनि कुनै बीमा कम्पनिमा एउटा पोलिसी वा एक सय वटा पोलिसी पनि हुन सक्छ । प्राय लघु कर्जा लघुवित्तका सदस्यलाई प्रदान गरिने र ९० प्रतिशत भन्दा बढी सदस्य महिला हुने र उक्त महिला सदस्यको श्रीमानको मृत्यु हुँदा पनि ऋण तिर्न गर्हो हुने भएकोले लघुवित्त संस्थाको अनुरोधमा तत्कालिन सेवा प्रदायक संस्थाहरुले श्रीमानको मृत्युमा समेत ऋण रकमभन्दा कम हुने गरी निश्चित रकमको बीमा थोरै बीमाशुल्क लिई सेवा प्रदान समेत गरेका थिए जसलाई पछिल्ला कम्पनीहरुले समेत निरन्तरता दिए ।
सुरुवाती अवस्थामा यस बीमा योजना आफैँमा एउटा जोखिम हुनसक्ने हुँदा मेटलाइफ तथा नेशनल लाइफइन्स्योरेन्स कम्पनीले मात्र सुरुवात गरेका थिए । पछि २०७४ सालमा नौवटा नयाँ कम्पनी बीमा बजारमा आएसँगै बीमा बजारमा तीव्र प्रतिस्पर्धा देखिन्छ । नयाँ कम्पनीमध्ये पनि रिलायबल लाइफ इन्स्योरेन्सले साबिक कम्पनीभन्दा निकै सस्तो बीमादर प्रस्ताव गरी पुराना कम्पनीको व्यापारमा प्रतिस्पर्धा गरेको थियो र धेरै व्यापार पनि गर्न सफल भएको थियो भने हाल सम्पूर्ण कम्पनीको बीमाशुल्क आर्जनको एक प्रमुख क्षेत्र नै लघु कर्जा बीमाजस्तो देखिएको छ । सुरुमा अत्यन्त आक्रामक बजारीकरण भए पनि कतिपय बीमा कम्पनी भने यस योजनामा रहेको अत्यधिक दाबीको प्रतिशतले गर्दा पछि हटेको पनि देखिन्छ । विशेष गरी विपन्न क्षेत्रमा ग्राहक लक्षित गरी कर्जा प्रदान गरिने र सदस्यहरुको मृत्युदर अस्पताल एवं उपचार खर्चको अभावमा बढी हुने अनुभव बीमा कम्पनीहरुको छ । कुनै कुनै कम्पनीको दाबीको दर ५०–६० प्रतिशतभन्दा पनि बढी छ ।
लघु बीमासँग सम्बन्धित बीमा समितिद्वारा समय समयमा जारी गरिएका निर्देशिकाहरु १(बीमाशुल्कमा छुट प्रदान गर्न नपाइने २) एउटै बीमाअन्तर्गत बीमित तथा श्रीमान्श्रीमतीको बीमा गर्न नपाइने ३) एउटै दरको बीमाशुल्क लिन नपाइने ४) संस्थागत अभिकर्ताकोरुपमा काम गर्दा बीमा समितिद्वारा निर्देशित कमिसनभन्दा बढी केही पनि आर्जन गर्न नपाइने, लघु कर्जा बीमाका विसंगतिहरु विभिन्(नविपन्न वर्ग समुदायसँग सिधा सम्बन्ध राख्ने लघु कर्जा बीमा बजार हालका दिनमा आएर भने अत्यन्त विसंगतिको शिकार भएको छ । बीमा कम्पनीहरुद्वारा बीमा समितिद्वारा जारी गरिएका निर्देशिका तथा बीमा ऐनको ठाडो उल्लंघन गरेका छन् । बीमा कम्पनीको बीमाशुल्कआर्जन गर्न कुनै पनि हद पार गर्ने र केही लघु वित्त संस्थाका प्रमुख अधिकारी तथा सञ्चालकहरुको लोभका कारण बीमित सदस्यले आफूले तिरेको बीमाशुल्कमा रजाइँ गर्ने क्रम बढेको छ । सार्वजनिक रुपमा नै भइरहेका यस्ता विसंगतिहरुमा बीमा समिति भने लाचार भएर बसेजस्तो देखिन्छ । ती विसंगतिहरुलाई यस प्रकार उल्लेख गर्न सकिन्छ–
विसंगति नं १ : स्वीकृतिविना नै बीमा योजना बिक्री
बीमा समितिमा लघु कर्जा बीमाको छुट्टै योजनाको स्वीकृति लिएका कम्पनीहरु थोरै भए पनि लघुवित्त वित्तीय संस्थामा भने प्रायः सबै जीवन बीमा कम्पनीले व्यापारको लागि प्रवेश गरेको पाइन्छ। बीमा कम्पनीबाट अन्य व्यक्तिगत म्यादी, सामूहिक वा सदस्यको बीमाको योजना लाई लघु कर्जा बीमाकोरुपमा प्रयोग गर्दै आइरहेका छन् । व्यक्तिगत रुपमा गर्ने बीमाको योजनामा प्रत्येक सदस्यको उमेरको आधारमा बीमाशुल्क निर्धारण हुने भए पनि बीमा कम्पनीहरुले आफूखुसी सबैको लागि एउटै दर प्रदान गरिरहेका छन् । यसरी विनास्वीकृति बीमा गर्दा बीमा कम्पनीले आफूले लिन सक्ने जोखिमभन्दा बाहिर गएको र ठूलै दुर्घटनाको जोखिमलाई आत्मसात् गरेको देखिन्छ । बीमा समितिले सम्पूर्ण लघुवित्त संस्थासँग आफूले लघुकर्जा बीमाको सेवा प्राप्त गरेको सूची संकलन गर्ने हो भने विनास्वीकृति लघु कर्जा बीमा गर्ने कम्पनीको सूची तुरुन्त प्राप्त हुन सक्नेछ ।
विसंगति नं २ : समान वा फ्ल्याट दर
बीमा समितिले केही समयअघि जारी निर्देशिकामा कुनै उमेरको आधारमा भिन्न बीमाशुल्क लिन निर्देशित गरे पनि स्वीकृत वा अस्वीकृत कुनै पनि योजना वा जीवन बीमा कम्पनीले सोको पालना गरेका छैनन् । बीमा समितिबाट कुनै पनि लघुवित्त संस्थामा सामान्य जानकारीको लागि एक कल फोन गरी प्राप्त हुनसक्ने जानकारीमार्फत आफूले गरेको निर्देशनको ठाडो उल्लंघन भएको पत्ता लगाउन सकिन्छ तर पनि बीमा समिति मौन छ ।
विसंगति नं ३ : बीमा शुल्क दर
कुनै पनि देशकोबीमाका नियामकको कर्तव्य भनेको बीमित, बीमा कम्पनी तथा सम्पूर्ण बीमा क्षेत्र नै सुरक्षित तथा सुशासित हुने बनाउनु हो । तर लघु कर्जा बीमामा कम्पनीले कुनै पनि अवस्थामा बीमाशुल्क लिन गर्ने होडबाजीको कारणले लघु बीमाको शुल्कमा जीवन बीमा कम्पनीले मनपरी गरेका छन् । आफूले लिएको शुल्कमा पुनर्बीमाको शुल्क पनि तिर्न नसक्ने गरी प्रतिस्पर्धा गर्दा यो बीमा योजना अझै बढी जोखिममा परेको छ । कतिपय कम्पनीले यस बीमाको पुनर्बीमा समेत नगरेको पाइएको छ । अझै एउटै बीमाशुल्कमा एकभन्दा बढी व्यक्तिको बीमा गरिदिनेसम्मका योजना लघु बीमा बजारमा देख्न पाइन्छ ।
विसंगति नं ४ : दोहोरो बीमा
ऋणीको बीमा गर्दा ऋण प्रवाह गर्ने संस्था र ऋणीबीचमा बीमायोग्य हित हुने भएकोले वित्तीय संस्थाले बीमा गर्न सकिएको हो र विश्वमा समेत यस्तो अभ्यास भएको पाइन्छ । न्यून रकमको बीमा भनी ऋणी सदस्यको श्रीमान् वा श्रीमतीको बीमा गर्ने गरी सुरुवात भएको लघु बीमाको अभ्यास हालका दिनमा आएर भने ऋणीको बराबरकै बीमा सुरक्षा प्रदान गरी गर्ने प्रचलन बढ्दो छ। यसरी दोहोरो बीमा गर्दा बीमायोग्य हितको ख्याल त गरिएको छैन नै अझै एउटै बीमाशुल्कमा दोहोरो जोखिम कुनै अनुभवविनाउठाउँदा बीमाको जोखिम अत्यन्त धेरै बढेको छ ।बीमा समितिले श्रीमान् वा श्रीमतीको बीमा एउटै बीमालेखबाट जारी नगर्न निर्देशन गरेको त छ तर त्यसको विपरीत लघुवित्त संस्थाहरु दोहोरो बीमा सुरक्षाको बोल माग गरिरहेकाछन् र बीमा कम्पनीहरु पनि सो सेवा प्रदान गरिरहेका छन् ।
विसंगति नं ५ : कमिसनबाहेकका प्रोत्साहन रकम
बीमा समितिको निर्देशनअनुरुप कुनै पनि संस्थागत अभिकर्ता वा यस सन्दर्भमा लघुवित्त संस्थालाई कमिसनबाहेक अन्य कुनै पनि रकम वा सेवा प्रदान गर्न मिल्दैन तर बीमा कम्पनीहरु हाकाहाकी कमिसनबाहेक प्रोत्साहन रकम, कर्मचारीको बीमा सुविधा, सहकारीका संगठनहरुलाई प्रोत्साहनका स्किम, प्रमुख कार्यकारी अधिकृत, सञ्चालकलाई भ्रमणलगायतका रकम तथा सेवा प्रदान गरिरहेका छन् । बीमा समितिको आँखा छल्न यस्ता रकम तथा सेवालाई बीमा वा तालिमको खर्चकोरुपमा वित्तीय संस्थालाई प्रदान गर्दछन् । यसरी एक त अत्यन्त न्यून र अवैज्ञानिक बीमाशुल्क र त्यसमाथि न्यून आय भएका व्यक्तिबाट प्राप्त बीमाशुल्कको दुरुप्रयोग भइरहेको हुँदा पनि बीमा समिति मौन बसेको छ। यसरी विपन्न तथा न्यूनवर्गीयव्यक्तिको बीमामा भइरहेको विसंगतिले एक त बीमा कम्पनीहरुको नियतिमा नै प्रश्न उठाएको छ भने अर्कोतर्फ ४० भन्दा बढी सेवा प्रदायक संस्थालाई नियमन गर्ने नियामक निकायको कार्य लाचारीपूर्ण देखिन्छ । बीमा कम्पनीहरु ग्राहक तथा आफ्नो व्यावसायिकतामा संवेदनशील हुने हो भने लघु बीमा सम्पूर्ण सामाजिक सुरक्षाको रुपान्तरणको सूत्र हुनसक्ने कुरामा भने ढुक्क हुन सकिन्छ ।