कोलम्बो । श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधि अभाव हुनथालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले बिरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ । अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।
दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्यवृद्धि पनि अत्यधिक भएको छ । अभाव र मूल्यवृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक संकट पनि थपिएको छ ।
तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहे पनि प्रभावकारी काम हुनसकेको छैन । सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचना समेत भइरहेको छ ।