मस्को । रुसले अमेरिकी कांग्रेसका तीन सय ९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ । ‘अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा राज्य डुमाका तीन सय २८ सांसदहरूविरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को ‘लहर’को प्रतिक्रियाको रूपमा थप तीन सय ९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।
रुस युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टरसहित नयाँ सैन्य सहायतामा आठ सय मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यो निर्णय आएको हो । यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी सेनाहरूविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपिल गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको हो ।