काठमाडौं । मुलुकको उद्योग क्षेत्रमा गरिने लगानीमा ९० दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ९० दशमलव ८१ प्रतिशत अर्थात् एक खर्ब २६ अर्ब ६८ करोड २४ लाख रुपैयाँले उद्योगमा गरिने लगानी प्रतिबद्धता बढेको छ । उक्त लगानी प्रतिबद्धता स्वदेशी र विदेशी लगानीकर्ताबाट आएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
गत आर्थिक वर्षको नौ महिनको अवधिमा एक खर्ब ३९ अर्ब ५० करोड रुपैयाँ र चालू आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षमा एक सय ७० वटा उद्योग र नौ हजार नौ सय ६७ जनालाई रोजगारी तथा चालू आर्थिक वर्षमा दुई सय २९ वटा उद्योग र २१ हजार पाँच सय १६ जनालाई रोजगारी दिने उद्देश्यका साथ उक्त लगानी प्रतिबद्धता आएको हो ।
कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका विभागमा दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा सबैभन्दा बढी ऊर्जाजन्यमा एक खर्ब ३५ अर्ब १३ करोड रुपैयाँ, उत्पादनजन्यमा ५७ अर्ब ८२ करोड २८ लाख रुपैयाँ, सेवाजन्यमा ४३ अर्ब ५१ करोड रुपैयाँ, पर्यटनजन्यमा २१ अर्ब ७० करोड ५७ लाख रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा चार अर्ब ४७ करोड रुपैयाँ, सूचना प्रविधिजन्यमा एक अर्ब ७७ करोड ८५ लाख रुपैयाँ, पूर्वाधारजन्यमा एक अर्ब ६४ करोड ८१ लाख रुपैयाँ र खनिजजन्यमा ११ करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
ऊर्जाजन्य ३५ वटा, उन्पादनजन्य ८८ वटा, सेवाजन्य ३७ वटा, पर्यटनजन्य ३९ वटा, कृषि तथा वन पैदावरजन्य १७ वटा, सूचना प्रविधिजन्य नौ वटा, पूर्वाधारजन्य तीनवटा र खनिजजन्य एउटा उद्योग स्थापना गर्न लागि उक्त लगानी प्रस्ताव गरेका हुन् । पर्याप्त पानी र उपयुक्त भू–बनोटको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा अर्थात् विद्युत् गृह स्थापना गर्न आकर्षित भएको पाइन्छ ।
गत आर्थिक वर्षको सोही अवधिमा पनि ऊर्जाजन्यमा सबैभन्दा बढी एक खर्ब दुई अर्ब ८५ करोड ४४ लाख रुपैयाँ, उत्पादनजन्यमा १५ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ, पर्यटनजन्यमा आठ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ, सेवाजन्यमा पाँच अर्ब ४० करोड ७१ लाख रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा चार अर्ब २८ करोड ५५ लाख रुपैयाँ, पूर्वाधारजन्यमा एक अर्ब ७३ करोड ८३ लाख रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा ६५ करोड रुपैयाँ र खनिजमा १२ करोड ३४ लाख रुपैयाँँ लगानी प्रतिबद्धता जनाएका थिए । उक्त लगानी प्रतिबद्धता ऊर्जाजन्य २६ वटा, उत्पादनजन्य ५५ वटा, पर्यटनजन्य ३२ वटा, सेवाजन्य ३१ वटा, कृषि तथा वन पैदावरजन्य १८ वटा, पूर्वाधारजन्य दुईवटा, सूचना, सञ्चार तथा प्रसारण प्रविधिजन्य पाँचवटा र खनिजजन्य एउटा उद्योग स्थापनाका लागि जनाएका हुन् ।
स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमार्फत उद्योगमा गरिने लगानी प्रस्ताव मोटो रकम आउने गरे पनि त्यसको कार्यान्वयन गरेको पाइँदैन । जसले गर्दा लगानी नआउने, उद्योग स्थापना हुन नसक्ने र रोजगारीको अवसर समेत प्राप्त हुँदैन । यसलाई कार्यान्वयन गर्न गराउन निजी क्षेत्र, सरकारी निकाय र विदेशी लगानीकर्ताहरुबीच समन्वय आवश्यक रहेको छ । सरकारले उद्योग क्षेत्रमा लगानी बढाउन विभिन्न सभा–सम्मलेन गरे पनि त्यसले सार्थकता पाउनसकेको छैन । विभागका साथै लगानी बोर्डबाट समेत नेपालको उद्योग क्षेत्रमा ठूलो लगानी आउने गरेको पाइन्छ ।
स्वदेशी लगानीकर्ताहरुले औद्योगिक व्यावसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाउँछन् । त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, राष्टिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी नीति, २०७१, औद्योगिक नीति, २०७६, कम्पनी ऐन, २०६३ लगायतले नेपालमा उद्योग स्थापना तथा लगानी ल्याउन सहयोग गरेको छ ।