विराटनगर। सरकारले आयातमा नियन्त्रण गरेसँगै पछिल्लो समय विराटनगरदेखि सुनसरी, झापा, सिराहा, सप्तरी र काठमाडौंसम्म नै कपडा व्यापारीको सेटिङमा भारतीय बजारबाट कपडाको तस्करी बढेको छ ।
विराटनगर बजारमा लामो समयदेखि कपडा पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले दिएको जानकारीअनुसार सरकारले कपडा आयात गर्नका लागि एलसी समेत खोल्न वञ्चित गरेपछि अहिले चोरबाटो हुँदै कपडाको तस्करी बढेको हो । नेपाल भारत सीमा खुला भएका कारण कपडाको तस्करी गर्दै आएका कपडा व्यवसायीको संलग्नतामा पछिल्लो समय कपडाको तस्करी बढेको बताइन्छ । विगतमा पनि कपडाको व्यवसाय गर्ने व्यवसायीले नै विराटनगर भन्सारको आईसीपी हुँदै ग्रीन च्यानलबाट ठूलो परिमाणमा कौडीको मूल्यमा कपडाहरू भन्सारबाट भित्र्याउने गरेका थिए । अहिले सरकार आफैँले एलसी समेत खोल्न नदिएपछि व्यवसायीहरू बाध्य भएर कपडाको तस्करी गर्न थालेको व्यवसायीको दावी छ । ब्यवसाय सञ्चालन गर्नका लागि पनि व्यवसायीले कपडाको तस्करी गर्नु अवस्था सिर्जना भएको उनी बताउँछन् ।
झापा, इटहरीदेखि धरानसम्मका व्यापारीको कपडा भन्सारबाट ल्याउन समस्या भएपछि अहिले तस्करमार्फत कपडाको तस्करी बढेको कुरा बताइन्छ । तस्करी गरी ल्याएको कपडा भारतीय सीमा नजिकै नेपाली बजारको ग्रामीण सहरमा गोदाम भाडामा लिएर स्टोर गर्ने परिपाटी परी व्यापकरूपमा मौलाउन थालेको छ । यसरी स्टोर गरिएको कपडा सशस्त्र प्रहरीसँग चेक प्वाइन्टमा सेटिङ गरी काठमाडौंसम्म नै पठाउन थालिएको छ । पछिल्लो समय विराटनगरका सबैजसो कपडा व्यापारीको कपडा ठेक्कामा लिएर कपडा तस्करीले पसलसम्म नै ल्याइदिन थालेका छन् । राजस्व छलीमा अनुसन्धान र कारबाही गर्दै आएको राजस्व अनुसन्धान समेत सशस्त्र प्रहरीको असहयोगका कारण मुकदर्शक बन्न बाध्य भएको छ ।
मुलुक अहिले स्थानीय निर्वाचनको संघारमा रहेको मौका समेत पारेर तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै आएका छन् । सीमा सुरक्षादेखि भन्सार राजस्व गस्तीको समेत जिम्मेवारी पाएको सशस्त्र प्रहरी आफैँ यो विषम परिस्थितिका बेला कमाउन उद्यत् भएपछि राजस्व अनुसन्धान कार्यालय सुनसरीको प्रयासबाट मात्रै कपडा तस्करी नियन्त्रणमा नआउने दाबी पनि अहिले गर्न थालिएको छ ।
केही समय अगाडि ससस्त्र प्रहरीकै सामुन्ने राजस्व अनुसन्धान कार्यालय सुनसरीका कार्यालय प्रमुख तिर्थराज खनालमाथि कार्यालयमै तस्करको हमला भएको थियो । उक्त घटनापछि सशस्त्र प्रहरी र कपडा तस्करका बीचमा डरलाग्दो सेटिङ रहेको रहस्य खुलेको थियो । अहिले तिनै तस्करबाट सशस्त्र प्रहरीकै सेटिङमा कपडा तस्करी हुँदा पनि राजस्व अनुसन्धान सुनसरी निरीह बनेको स्रोतले दाबी गरेको छ । जसले गर्दा त्यसरी तस्करी भएर नेपाल ल्याइएका कपडा खुलेयाम काठमाडौंसम्म नै तस्करले पु¥याउने गरेको कुरा बताइन्छ ।