काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर—कोड महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो ।
विशेषगरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्देश्यको साथ यो योजना सुरु गरिएको बैंकले जानकारी दिएको छ । यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषाअनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्षरूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, उनीहरूलाई बुझ्नुपर्दछ, बैंकले भनेको छ । सुरुमा एक हप्ताको लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा पाँच प्रतिशत वा अधिकतम प्रतिकारोबार दुई सय रुपैयाँ र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम पाँच सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजना २०७९ वैशाख एक गतेदेखि लागू हुनेछ । योजनामार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैंकिङ च्यानलमा भित्र्याउने, उनीहरूलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ । सन् १९८४ मा स्थापित यस बैंकले हाल एक सय ४६ शाखा, एक सय ८० एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवाप्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम डिजिटल सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक डिजिटल बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको जानकारी दिएको छ ।