काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । तीनकुने काठमाडौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा विद्युतीय माध्यमबाट भर्चुअलरूपमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको यही चैत्र ३० गते सम्पन्न सभाले कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने करबापत शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश गरी जम्मा ११ दशमलव ५८ प्रतिशत लाभांश साधारणसभाबाट स्वीकृत भएको छ ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढावहरू विसं २०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) र सोको नयाँ/नयाँ भेरियन्टको असर, तत्पश्चात् वित्तीय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने विदेशी राष्ट्रहरूबीच भएको आपसी द्वन्द्वलगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा असर पारेको बताउँदै सम्भावित बीमा जोखिमहरूको आकलन तथा सोको संयमित र अनुकूलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको सूत्र हो भन्नेमा कसैको दुई मत हुन नसक्ने जनाउँदै कम्पनीभित्रको सुसाशन र सहभागितामूलक पारदर्शी निर्णय प्रक्रियाहरूले सञ्चालक समिति र व्यवस्थापनबीचमा झन् प्रगाढता बढेको बताए ।
बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच पुँजी, दाबी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालीन लक्ष्य प्राप्तिका लागि समस्त कम्पनी परिवार प्रयत्नशील रहेको बताउँदै हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूको बजार, ग्राहक, लक्ष्य, उद्देश्य लगभग एकै किसिमका रहेकाले यस्तो अवस्थामा कम्पनीले प्रतिस्पर्धा गर्न ग्राहककेन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको र कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बीमा सेवामा विशेष जोड दिइएको बताए ।
वार्षिक साधारणसभामा विभिन्न सेयरधनीहरूले आफ्नो मन्तव्य, जिज्ञासा र सुझावहरू राख्नु हुँदै कम्पनीको प्रगति सन्तोषजनक रहेको र बीमा समितिबाट जारी भएको पुँजी वृद्धिसम्बन्धी निर्देशनबमोजिम कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड पु-याउनको लागि हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्न विशेष प्रस्ताव पेस गरी सो प्रस्ताव अत्यधिक बहुमतले पारित गरी सोहीअनुसार कम्पनीको पुँजी वृद्धिसम्बन्धी योजना तयार गरी बीमा समितिमा पेस गर्न साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दियोे ।
वार्षिक साधारणसभाबाट पारित बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब २८ करोड ९७ लाख ११ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रीय कार्यालयसहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरूबाट सेवा प्रदान गरिरहेको छ ।