चर्चित म्यागेजिन फोर्ब्सले हरेक वर्ष विश्वका धनाढ्यहरुको वरीयता सार्वजनिक गर्छ । सन् २०२१ मा जस्तै सन् २०२२ मा पनि उक्त म्यागेजिनले विश्वका अर्बपतिहरुबारेको विवरण केही दिनअघि सार्वजनिक गरिसकेको छ । यो फोब्र्सको ३६औँ वार्षिक वरीयता विवरण हो ।
उक्त विवरणअनुसार अघिल्लो वर्षभन्दा यस वर्ष विश्वमा अर्बपतिहरुको संख्या घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ८७ जना अर्बपति घटेका विवरणले देखाएको छ । फोर्ब्सका अनुसार यो वर्ष विश्वभर दुई हजार छ सय ६८ जना अर्बपति रहेका छन् । उनीहरुको कुल सम्पत्ति एक सय २७ खर्ब अमेरिकी डलर रहेको छ । जुन अघिल्लो वर्षको तुलनामाा चार खर्ब अमेरिकी डलरले कम हो ।
खासगरी युद्ध, महामारी र उतारचढावपूर्ण सेयर/विनिमय बजारका कारण अर्बपतिको संख्यामा पनि ह्रास आएको हो । रुसले यही वर्ष युक्रेनमाथि आक्रमण थालेको थियो । सोही कारण हुनसक्छ यो वर्ष रुसमा नाटकीय रुपमा अर्बपतिहरुको संख्या घटेको छ । छिमेकी देश युक्रेनमाथि युद्ध छेडेको रुसमा यस वर्ष ३४ जना अर्बपति घटेका छन् । त्यस्तै यस वर्ष विश्वमा अर्बपति घट्नुको अर्को कारण चीनले व्यावसायिक क्षेत्रमाथि गरेको कडाइलाई पनि लिइएको छ । चीनमा विशेषगरी प्रविधि कम्पनीहरुमाथि सरकारले निकै कसिलो नीति अवलम्बन गरेको थियो । परिणामतः चीनमा गत वर्षभन्दा ८७ अर्बपति घट्न पुगेका छन् ।
यसका बाबजुद कुल अर्बपति संख्यामध्ये एक हजार अर्बपति भने वर्षगत तुलनामा थप धनी पनि बनेका छन् । कुलमध्ये विश्वमा दुई सय ३६ नयाँ व्यवसायी अर्बपति बन्न सफल भएका छन् । यसपटक बार्बादोस, बुल्गेरिया, इस्टोनिया र उरुग्वेबाट पहिलोपटक अर्बपति देखापरेका छन् । तर पनि अमेरिकाबाट नै धेरै अर्बपति रहेका छन् । त्यहाँ सात सय ३५ अर्बपति रहेको फोर्ब्सले जनाएको छ । उनीहरुको मात्रै कुल सम्पत्ति ४७ खर्ब डलर हुन आउँछ । विश्वका २६ सय बढी अर्बपतिमध्ये सबैभन्दा धनी अर्बपति भने अमेरिकाबाट इलोन मस्क रहेका छन् । त्यसपछि दोस्रो धेरै अर्बपति हुने देशमा पर्छ चीन । त्यहाँ मकाउ र हङकङका समेत गरी छ सय सात जना अर्बपति रहेका छन् । उनीहरुको कुल सम्पत्ति २३ खर्ब अमेरिकी डलर रहेको छ । फोर्ब्सले यो वर्षको मार्च ११ बाट सेयर र विनिमय दरका आधारमा विश्वका धनाढ्यहरुको सम्पत्ति मापन गरेको हो ।
कसको कति सम्पत्ति ? विश्वका हजारौँ अर्बपतिलाई उछिनेर पहिलो नम्बरमा अटाएका इलोन मस्कको सम्पत्ति दुई खर्ब १९ अर्ब अमेरिकी डलर रहेको छ । त्यसपछि रहेका अमेजनका प्रमुख जेफ बेजोसको एक खर्ब ७१ अर्ब अमेरिकी डलर, तेस्रोमा रहेका बर्नार्ड आर्नो र उनको परिवारको एक खर्ब ५८ अर्ब डलर, चौथोमा परेका माइक्रोसफ्टका मालिक बिल गेट्सको एक खर्ब २९ अर्ब डलर, सेयर लगानीकर्ता वारेन बफेटको एक खर्ब १८ अर्ब डलर, गुगलका ल्यारी पेजको एक खर्ब ११ अर्ब डलर, गुगलकै सर्जेई ब्रिनको एक खर्ब सात अर्ब डलर, सफ्टवेयर क्षेत्रका उद्यमी ल्यारी इलिसनको एक खर्ब छ अर्ब डलर, माइक्रोसफ्टका स्टिभ बाल्मरको ९१ अर्ब ४० करोड डलर र दशौँ स्थानमा परेका भारतीय अर्बपति मुकेश अम्बानीको ९० अर्ब ७० करोड डलर सम्पत्ति रहेको छ । ११औँ स्थानमा पनि भारतकै गौतम अदानी र उनको परिवार रहेको छ । उनीहरुको सम्पत्ति ९० अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।