काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निजी सवारीसाधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नअतालिन अटोमोबाइल्स व्यवसायीहरूलाई सुझाव दिएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले अहिले देशको अर्थतन्त्र अलिक दबाबमा रहेकोले यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बताए । उनले भने, ‘निजी सवारीसाधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला । यो केही समयका लागि मात्र हो ।’ यस्तै उनले अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताए । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको समेत उनले आरोप लगाए । साथै उनले नाडाका प्रतिनिधिहरूलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पार्न आग्रह समेत गरे ।
उक्त भेटमा नाडाका अध्यक्ष थापाले तीन खर्ब ५० अर्बभन्दा बढीको लगानी अटोमोबाइल्सको क्षेत्रमा रहेको बताए । हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पु-याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजारभन्दा बढीलाई अवसर यस क्षेत्रले दिएको उनको दाबी छ । यस्तै उनले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरूले गरिरहेको अवरोध खुलाउन आग्रह गरे ।
काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरूको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको हुँदा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट विनियोजन गर्न समेत उनले आग्रह गरेका थिए । यस्तै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारीसाधनहरूको आयात बन्द हुँदा देशमा पर्नसक्ने असरहरूबारेमा अर्थमन्त्रीलाई विस्तृत रूपमा जानकारी गराएका थिए भने अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमा नाकाहरूबाट हुने स्पेयर पाट्र्सको चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे ।