काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्योपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोगस्वरूप दुई लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १५औँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक समारोहका बीच बैंकले दुई लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो । बेबी लाइफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका सञ्चालक पुनले जानकारी दिएका छन् । हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरतास्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोगरकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।
बैंकले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात पनि गरेको छ । कियोस्कमार्फत प्रारम्भिकरूपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बंैकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैकका कर्मचारीको सहयोगविना नै प्राप्त गर्न सक्नेछन् । साथै यस बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।