काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृतरूपमा जानकारी गराएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशैभरिका सात सयभन्दा बढी नाई सदस्यहरूको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरूलाई क्यूआर कोड सेवा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ ।
सम्झौताअन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आबद्ध भई क्यूआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुविधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरूमा आवश्यक छुट दिनेछ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक मुकुन्द सुवेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले ग्राहकहरू माझ थुप्रै खालका सेवा सुविधाहरू ल्याउँदै आएको छ । बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाका कारण ग्राहकहरूको आकर्षण बढ्दो छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ३७ वटा शाखा १३ एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएम बुथहरू सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।