काठमाडौं । एनएमबी बैंकले ‘नवौँ हेरिटेज वाक कार्यक्रम’ सम्पन्न गरेको छ । बैंकले शनिबारको दिन एनएमबी भवन, एनएमबी बैंक, बबरमहलबाट सुरु भई बसन्तपुर डबलीसम्म पुगी समापन हुने नवौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोपपश्चात् दुई वर्षपछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बसन्तपुर डबलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू, युनेस्काको सदस्य तथा सर्वसाधारणहरू गरी लगभग पाँच सय जनाको सहभागितामा एनएमबी भवन, बबरमहल, काठमाडौंदेखि प्लेकार्डसहित उक्त डबली क्षेत्रसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टबिनहरू पनि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वरी मन्दिर, मधेश प्रदेशमा वीरगञ्ज शाखादेखि गहवा माई मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मन्दिर, प्रदे्रश ५ मा ट्राफिक चोक शाखादेखि जीतगढी किल्ला र सुदूरपश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरू सरसफाइ गरेको छ ।
उक्त हेरिटेज वाकमा सांस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जति नै माया गरौँ, यो मेरो सांस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, सांस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागि मार्गदर्शन, अतिथिको सम्मानार्थ सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने किसिमका नाराअङ्कित प्लेकार्डहरू थियो ।
उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्टलगायतले सम्पदा संरक्षणको महत्वबारे प्रकाश पार्दै वक्तव्य दिएका थिए भने एनएमबी बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिएका थिए ।
विगत २६ वर्षदेखि अनवरतरूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ वटा एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।