बेइजिङ । चीनको शून्य कोभिड नीतिले देशको कुल गार्हस्थ्य उत्पादन लक्ष्य हासिल हुन कठिन देखिएको छ । विश्लेषकहरुका अनुसार आपूर्ति शृंखलामा असर, बन्दरगाहमा ढिलाइ र शांघाईमा जारी लकडाउनले जीडीपी लक्ष्य पूरा हुन गाह्रो हुने देखिएको हो ।
गत वर्षको पछिल्लो छ महिनादेखि नै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धि सुस्त भइरहेको थियो । सम्पत्ति बजार सुस्त र नियामकीय कडाइलाई त्यसको कारण मानिएको छ । सोही कारण चिनियाँ नीतिनिर्मातालाई वार्षिक जीडीपी लक्ष्य सन् २०२२ का लागि दशकयताकै कम राख्नुपर्ने बनाएको थियो । अहिले चीनले ५.५ प्रतिशत लक्ष्य राखे पनि प्राप्त गर्न कठिन हुने देखिएको छ । लकडाउनका कारण घरमै बस्नुपर्ने हुँदा उत्पादन रोकिएको छ भने मुख्य सहरहरुमा उपभोक्ता खर्चलाई प्रभाव पारेको छ ।