काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ५ गते सोमबार पुनः १० अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही चैत २८ गते पनि राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यसरी बिक्री गरिएको ट्रेजरी बिलमा पुरानो नवीकरणअन्तर्गतको पाँँच अर्ब २० करोड र नयाँ पाँच अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार जारी वैशाख ६ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको पाँच अर्ब २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ साउन ३ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ कात्तिक १ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री भएको ९१ दिने ट्रेजरीमा पनि पुरानो नवीकरणअन्तर्गत २० करोड र नयाँ पाँच अर्ब रुपैयाँको रहेको छ । यसअघि गत साता अर्थात् गत चैत २८ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।