ललितपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर–घरको धारामा वितरण गर्नेगरी तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबारबाट पूरा हुने बताए ।
यस्तै उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणको लागि विशेष पहल गर्नुपर्ने बताए । मेलम्चीको वैकल्पिक स्रोतको रूपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्न सकिने विषयमा समेत अध्ययन भइरहेको उनको भनाइ छ । खानेपानी सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा शुद्ध खानेपानीको व्यवस्था गर्न जलाधार संरक्षण, मुहान संरक्षण र पानीको वैकल्पिक स्रोतको खोजी गर्ने विषयमा बोर्डले अझ प्रभावकारी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणाले शुद्ध खानेपानीको अभावलाई पूरा गर्न बोर्डले राजधानीका १६ वटा सार्वजनिक स्थलहरूमा ‘वाटर एटीएम’को व्यवस्था गरेको जानकारी दिए । कार्यक्रममा मन्त्री चौधरीले बोर्डको कार्यालयमा स्थापना भएको ‘वार रुम’को उद्घाटन समेत गरेका थिए । बोर्डले उपत्यकाका काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरको १ सार्वजनिक स्थलमा वाटर एटीएमको व्यवस्था गरेको छ । वाटर एटीएमको अवस्था बुझ्न र सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न बोर्डको कार्यालयबाटै २४सै घण्टा निगरानी गर्न मिल्ने बोर्डका वरिष्ठ प्रशासनिक अधिकृत उदय केसीले जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्र खानेपानी तथा ढल निकास सेवालाई व्यवस्थित एवं नियमित गर्दै गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा सर्वसुलभ ढंगले प्रवाह गर्ने उद्देश्यले २०६३ वैशाख ५ गते स्थापना भएको हो । बोर्डले काठमाडौं उपत्यकाभित्र खानेपानी, ढल निकास सेवाका अतिरिक्त भूमिगत स्रोतको पानीको व्यावसायिक उपयोग एवं ट्यांकर सेवा सञ्चालनलाई कानुनी दायरामा ल्याई व्यवस्थितरूपमा सञ्चालन गरिरहेको छ ।