काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टा, स्थित काँकडभिट्टा शाखाको आइतबार एक समारोहका बीच उद्घाटन गरेको छ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र बैंकका सञ्चालक विजयकुमार श्रेष्ठबाट संयुक्तरूपमा औपचारिक समुद्घाटन सुसम्पन्न भएको हो ।
औपचारिक समुद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उपप्रमुख श्रीमती मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललितबहादुर तामाङ तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषिराज तिम्सिनाले बैंकको काँकडभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।
उक्त औपचारिक कार्यक्रममा बैंकका सञ्चालक विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समयसुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानीयहरूको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको अगामी दिनहरूमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरू सञ्चालन गर्ने योजना अगाडि रहेको छ ।