काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरूले होमलोन अर्थात् व्यक्तिगत आवास निर्माणको लागि मात्र तीन खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी रकम कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरूले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा व्यक्तिगत आवास शीर्षकमा मात्र कुल तीन खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४९ खर्ब तीन अर्ब ३८ करोड २० लाख र ४७ खर्ब १७ अर्ब एक करोड ४० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकले एक करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई रियलस्टेट कर्जाबाट छुट्याएर व्यक्तिगत आवास अर्थात् होमलोन शीर्षकमा राखिएको छ । सोही आधारमा वाणिज्य बैंकहरूले भने आफ्नो कुल कर्जामध्ये दुई खर्ब ८० अर्ब ९५ करोड २० लाख रुपैयाँ घरजग्गा क्षेत्रमा प्रवाह गरेका छन् । चालू आवको पछिल्लो आठ महिनामा वाणिज्य बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४३ खर्ब ३४ अर्ब ५९ करोड ४० लाख एवं ४१ खर्ब ८४ अर्ब पाँच करोड ७० लाख रुपैयाँ रहेको छ ।
विकास बैंकहरूले भने आफ्नो कुल कर्जामध्ये ४५ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कर्जा व्यक्तिगत आवास शीर्षकमा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनामा विकास बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ७३ अर्ब ५१ करोड ६० लाख एवं चार खर्ब ४३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ छ । यस अवधिमा फाइनान्स कम्पनीहरूले भने व्यक्तिगत आवास शीर्षकमा १० अर्ब ३९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ९५ अर्ब २७ करोड २० लाख एवं ८९ अर्ब ५६ करोड ३० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैैैंकमा अनुसार चालूआवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा नै प्रवाह गरेको कुल कर्जा रकम भने एक खर्ब ६८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूको मात्र कुल रियलस्टेट कर्जा एक खर्ब ८२ अर्ब ३० करोड ५० लाख र विकास बैंकहरूको कुल रियल स्टेट कर्जा २२ अर्ब ११ करोड १० लाख रुपैयाँ छ । सो अवधिमा फाइनान्स कम्पनीहरूले भने रियलस्टेट क्षेत्रमा आठ अर्ब २५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।