दोलखा । भूकम्प र कोभिडको कारण सुस्ताएको दोलखाको निजी क्षेत्र अझै फिर्न सकेको छैन । भूकम्पपछि सामान्य चहलपहल देखिएका जिल्लाका बजार क्षेत्र कोभिडपछि भने झन् सुस्ताउँदै गएका हुन् ।
दोलखामा दर्जन बढी दैनिक लाखौँको कारोबार हुने बजार छन् । निकै चहलपहल देखिने चरीकोट, जिरी मैनापोखरी, सिंगटी, मागादेउरालीलगायतका मुख्य बजार अहिले निकै खस्किँदै गएको पाइन्छ । भूकम्पपछिको पुनः निर्माणको समयमा केही चहलपहल बढेको चरीकोट बजारको कारोबार पनि घट्दै गएको उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । भूकम्पपछिको पुनर्निर्माणका सामग्री किनबेच र विभिन्न उत्सव, महोत्सवले चलायमान भएको बजार क्षेत्र त्यसपछिको कोभिडका कारण गरिएको लकडाउनले करिब तीन वर्ष ठप्प बनेको थियो ।
कोभिड महामारीको नियन्त्रण भएर लकडाउन खुले पनि यहाँका व्यापारिक बजारहरू अझै पुरानो लयमा फर्किन सकेका छैनन् । चरीकोट बजार भने संघीयता कार्यान्वयनपछि नै सुस्ताउँदै गएको थियो । कोभिडपछि त यहाँको बजारक्षेत्र सुनसानजस्तै भएको चरीकोट बजारका व्यापारी एवं चेम्बर अफ कमर्सका महासचिव पाण्डव सिंह पाण्डेले बताए ।
२०७४ को निर्वाचनको ताका भूकम्पपछिको पुनर्निर्माणको कार्य धमाधम भएकाले चरीकोट बजार निकै व्यस्त थियो । हाल पुनर्निर्माणको काम पनि करिब सकिन लागेको र निर्वाचनपछि गाउँस्तरमा नै बजारले विस्तार पाउन थालेपछि मुख्य बजार सेलाउँदै गएको उनले बताए । जिल्लामा निजी क्षेत्रलाई उकास्न र चलायमान बनाउन खोलिएका करोडौँ लगानीका होटलहरूलाई समेत आफ्नो लगानी उठाउन नसकेर समस्यामा परेका छन् ।
कोभिडपछि पर्यटकको आगमन घट्दा करोडौँ लगानी गरेर खोलेका होटललाई अहिले आफ्नो लगानी उठाउनै समस्या भएको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ । यस्तै निर्वाचन नजिँकिँदै गरेकाले यहाँको निजी क्षेत्रलाई उकास्न जिल्लाका राजनीति दलले आफ्नो घोषणापत्रमा विभिन्न योजना समेट्न आवश्यक रहेको चेम्बर दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए । (आर्थिक दैनिकबाट)