काठमाडौं । देशलाई तिर्नुपर्ने राजस्व व्यापक छल्दै आएको भगवती लेमिनेट्सका उत्पादनहरु बिक्री गर्दै आएका बिक्रेताहरु समेत दोहोरा बिल काण्डमा मुछिने भएका छन् । विष्णु मधगोरिया मुख्य सञ्चालक रहेको लेमिनेट्सको विषयमा समाचारहरु आएपछि दोहोरो बिलमा यसका बिक्रेताहरु समेत तानिने भएपछि केही समयअघि उनीहरुले करिब १५ दिन कार्यालय नै बन्द गरी दोहोरो बिलको हिसाब मिलाएका थिए भने बिक्रेताहरुको यस्तो कार्य राजस्व अनुसन्धान विभागले देखेको नदेखेझैँ गरेको थियो ।
भ्याट छल्नकै लागि झापामा दुईवटा कार्यालय खोली कारोबार गर्दै आएको भगवती लेमिनेट्सले आफ्नो कर्तुतहरु सार्वजनिक भएपछि संस्थालाई कारबाहीबाट जोगाउन भन्दै अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागलाई समेत प्रभावमा पारेर तीव्र छानबिन हुन नदिएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार भगवती लेमिनेट्सले राजस्व अनुसन्धान विभागलाई प्रभावमा पारेको गत चैतमा सामान्य कारोबार गर्ने बिर्तामोडस्थित शाह कपडा उद्योगमा दिनभर छापा हान्न बल गरेर नसकी फर्केको विभागको टोली पुनः राति १० बजे छापा हान्न जानुले नै पुष्टि हुन्छ । अर्बको कारोबार गर्ने भगवती लेमिनेट्समा भने शाह कपडा उद्योगमा जस्तो रातारात काम नगरी राजस्व अनुसन्धान विभागले सामान्य हिसाबले काम गरिरहेको छ ।
भगवती लेमिनेट्सका उत्पादनहरु बिक्री गर्दै आएका बिक्रेताहरुले समाचारहरु सार्वजनिक भएपछि कारबाहीबाट बच्न दोहोरो बिलको हिसाब मिलाएर अहिले पूरा बिलमा मात्र काम गर्दै आएको एक बिक्रेताले आर्थिक दैनिकलाई बताए ।
उनका अनुसार समाचार प्रकाशित हुनु अगाडिसम्म भगवती लेमिनेट्सले मात्र नभई प्लाईको काम गर्ने सम्पूर्ण व्यवसायीहरुले नै यस्तो कार्य गर्दै आएका थिए । समाचार प्रकाशितपश्चात् अहिले सबै हिसाब मिलाएर १०० प्रतिशत भ्याट बिलमा मात्र काम गरिरहेका छन् । ‘२–४ पैसा बचाउन काठमा अन्डर बिल नै काम हुन्छ’, जडीबुटीका एक बिक्रेताले भने, ‘भगवती लेमिनेट्सले मात्र नभई सबैले यस्तै कार्य गर्ने हुँदा प्लाई उत्पादक संघ नै तैँ चुप मै चुप गरी बसेका हुन् ।’
‘समाचार लेख्नुभयो धन्यवाद’, ती बिक्रेता भन्छन्, ‘यस्तो कार्य गर्ने सबैलाई राजस्व अनुसन्धान विभाग वा विभागले राम्ररी अनुसन्धान नगरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अग्रसरता देखाउनुपर्ने हो तर हाम्रो देशमा काले काले मिलेर खाऊँ भाले भनेझैँ त्यस्तो हुँदैन ।’
आफूहरु सोझो भएर काम गर्दा समेत भगवती लेमिनेट्सले फसाउन खोजेको भन्दै ती बिक्रेताले भगवती लेमिनेट्सका उत्पादनहरु बिक्री गर्न छोडेको बताए । उनले अन्य बिक्रेताहरुलाई समेत पूर्ण रुपमा भ्याटमा काम गर्न सुझाव दिए ।
सातदोबाटोका अर्का बिक्रेताले समेत यस्तै अनुभव सुनाए । उनका अनुसार उनले ३–४ गाडी भगवती लेमिनेट्सका उत्पादनहरु बिक्री गरेको र लेमिनेट्सले आफूसँगै बिक्रेताहरुलाई समेत फसाउन खोजेको समाचारहरु आएपछि लेमिनेट्सका उत्पादनहरु बिक्री गर्न छोडेको बताए ।
भगवती लेमिनेट्सले नै जसरी अन्य प्लाई उत्पादकहरुले कार्य गर्ने गरेको बिक्रेताहरुको आरोपबारे जिज्ञासा राख्दा प्लाई उत्पादक संघका वरिष्ठ उपाध्यक्ष होम प्रसाद घिमिरेले त्यस्तो नगरेको दाबी गरे । वरिष्ठ उपाध्यक्ष घिमिरेका अनुसार संघमा यस्ता कुराहरु पनि नहुने र प्लाई उत्पादक संघ एउटा औपचारिक संस्थामात्र भएको, बाहिरी रुपमा संघको उपस्थिति पनि खासै नभएको अवस्थामा यस्तो आरोप आफूलाई थाहा नभएको बताए ।
नमस्ते प्लाई इन्डष्ट्रिज सञ्चालन गर्दै आएका वरिष्ठ उपाध्यक्ष घिमिरेले आफूले सधैँ १०० प्रतिशत भ्याटमा नै कार्य गरेको बताए । आफ्नो उत्पादनको ६० प्रतिशत कारोबार काठमाडौंमा गर्दै आएको भगवती लेमिनेट्सको विषयमा भने आफूहरुलाई जानकारी नभएको र समाचारमा आएजस्तै हो भने अनुसन्धान गरेर कारबाही गर्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष घिमिरेले जोड दिए ।
‘उद्योगहरु सबै ठीक हुन्छन् भन्ने छैन’, घिमिरे भन्छन्, ‘भगवती लेमिनेट्समाथि राजस्व अनुसन्धान विभागले अहिले गरिरहेको छानबिनबाट हामी खुसी छौँ । यस्तै छानबिन सबैको हुनुपर्छ ।’