काठमाडौं । सशस्त्र प्रहरी बलबाट एक साताअघि मात्र अनिवार्य अवकाश पाएका महानिरीक्षक शैलेन्द्र खनालले आफ्नै सचिवालयका एक अधिकृतलाई लगाएर हुने नहुने अनेकौँ धन्दा गरेको पाइएको छ । खनालले इन्स्पेक्टर नारायण गुरुङलाई अघि सारेर त्यस्तो धन्दा गरेका हुन् ।
इन्स्पेक्टर गुरुङ उनी आईजीपी बनेपछि सचिवालयमा राखिएका अधिकृत हुन् । त्यसअघि पनि उनी खनालसँगै हुने गर्दथे । खनाल डीआईजी भएपछि गुरुङ अंगरक्षक बनेका थिए । त्यसपछि उनी सधैँ खनालसँगै रहँदै आएका छन् । त्यतिबेला खनाल प्रायः एक्लै हुने गर्दथे । उनकी श्रीमती पनि अमेरिकामा पढ्न बसेको छोराको स्याहारसुसार गर्ने बहानामा अमेरिका भासिएकी थिइन् । जीवनको उराठलाग्दो त्यो समयमा पीएसओ गुरुङले त्यतिबेला गरेको बिर्सिन नसकिने योगदानको कदर गर्दै आईजीपी भएपछि खनालले उनलाई आफ्नो सचिवालयमा राखेका थिए । गुरुङलाई राखेपछि आफ्नो मन चाहनाअनुसार काम हुने उनको विश्वास थियो । पदले सानो ठूलो जे भए पनि अन्तरंग सम्बन्ध रहेका कारण खनालले सचिवालयबाट गर्नुपर्ने कामको खासै चिन्ता लिइरहनुपर्ने अवस्था थिएन । खासगरी फाइदा हुने सबै काम खनालले गुरुङलाई नै गर्ने गराउँथे । पछि त्यसको मूल्यांकन गर्ने गर्दथे ।
अनिवार्य अवकाश पाएको एक साता नबित्दै खनालले तिनै गुरुङमार्फत फर्जी भ्रमण आदेश बनाएर खाएको एउटा घटना सार्वजनिक भएको छ । गत चैत महिनामा सचिवालयकै डीएसपी सुमन बोगटीको नेतृत्वको १० जनाको टोलीले सुदूरपश्चिम प्रदेशको विभिन्न युनिटको अनुगमन गरेको थियो भनी अर्का डीएसपी रमेश विक्रम शाहीले हस्ताक्षर गरेको कागजात तयार पारेर रकम खाने कार्य भएको छ ।
डीएसपी शाहीको टोलीले कर्णाली प्रदेशको युनिट निरीक्षण गरेको भनी डीएसपी सुमन बोगटीले हस्ताक्षर गरेको कागजात बनाइएको त्यसरी फर्जी भ्रमण आदेश गराएर निवर्तमान आईजीपी खनालले लाखौँ रुपैयाँ अनियमितता गरेको घटना नवनियुक्त महानिरीक्षक पुष्पराज केसीलाई समेत टाउको दुःखाइको विषय बन्नपुगेको छ ।