काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसार सामग्रीहरू उत्पादन तथा बिक्रीवितरण रोक्न निर्देशन दिएको छ । आयोगले देशका विभिन्न स्थानमा राजनीतिक दल तथा उम्मेदवारको निर्वाचनचिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्रीलगायतका प्रचारसामग्रीहरू उत्पादन तथा बिक्रीवितरण भइराखेको भन्दै त्यस्ता सामग्रीको उत्पादन तथा बिक्रीवितरण गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
आयोगले बुधबार विज्ञप्ति जारी गरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई राजनीतिक दलका चुनाव प्रचारप्रसारका कुनै पनि उत्पादन नगर्न तथा नगराउनका लागि परिपत्र गरी सहयोग गरीदिन आग्रह समेत गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ जारी गरी गत चैत २५ गतेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याइसकेको छ । आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ मा सबैले पालन गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । सोही आचारसंहिताको दफा ४ को (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचनचिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्रीवितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था रहेको छ ।
आयोगको अनुरोधलाई बेवास्ता गरी आचारसंहिताको उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि सबै पक्षसँग आग्रह समेत गरेको छ ।