काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १६औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा १५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने हामीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएका छौँ र त्यसलाई निरन्तरता दिनेछौँ भन्ने कुरा स्वीकार गर्न पाउँदा मलाई असाध्यै खुशी लागेको छ । म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापन प्रक्रिया, संरचना र नीतिले हाम्रा मूल्य मान्यताहरूलाई पछ्याउन अनुमति दिन्छ । हामी हाम्रा ग्राहकहरूको सेवा गर्नका निमित्त काम गर्छौँ, यसैले हामी हाम्रा मूल्य मान्यताहरूलाई गम्भीर रूपमा लिन्छौँ र सही कुरा गर्न प्रतिबद्ध छौँ । यस सिद्धान्तप्रतिको हाम्रो समर्पण हाम्रो कम्पनीमा जनताको विश्वास कायम राख्ने कुन्जी भएको छ, जुन हाम्रो दीर्घकालीन सफलताको अभिन्न अंग हो, अध्यक्ष भण्डारीले भने ।
विसं २०६४ साल वैंशााख सात गतेदेखि २०औँ वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यो अवधि पार गरिसक्दा बैंकले करिब १३ लाख ५५ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जानकारी दिएको छ । सातवटै प्रदेशमा फैलिएको एक सय ७४ वटा शाखामार्फत चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब एक खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जातर्फ एक खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिब एक अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।
बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २३ स्थानबाट करिब चार सय जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ ।
यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरू तथा १० वर्ष अनवरत सेवाप्रदान गरेका ३६ जना कर्मचारीहरूलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको बैंकले जानकारी दिएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले भने, मिसन टप टेन रणनीतिमार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ । साथै आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुतरूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मकरूपमा व्यक्तिगत पहुँचमा ल्याइने प्रमुख कार्यकारी पोखरेलले बताए ।
आफ्ना ग्राहकहरूलाई धेरै च्यानलहरूमार्फत कहीँ पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ । तसर्थ, बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमासहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको छ । यसको कार्यान्वयन र सफलताका लागि जनता, प्रक्रिया र प्रविधिमा रणनीतिक काम गरिनेछ । साथसाथै बैंकभित्र डिजिटल संस्कृति अंगाल्नुको विकल्प छैन भन्नेमा मेरो दृढ विश्वास छ, प्रमुख कार्यकारी पोखरेलले भने ।
ग्राहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवाप्रदायकहरूसँग सहकार्य गर्दै आएको बैंकले हालसालै भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहकग्राहक ग्राहकहरूलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । साथै बैंकले डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकहरूको सहजताका लागि कार्डलेस क्यास विथड्रल सेवाकोे सुरुवात गरेको छ र हालसालै बैंकले भौतिकरूपमा बैंकमा उपस्थितभई केवाईसी अध्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दै इकेवाईसी सेवा समेत सञ्चालनमा ल्याएको छ । यसका साथै बैंकले नागरिक एपमार्फत अनलाइनखाता खोल्न सक्ने सुविधा ल्याएको छ । साथसाथै बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । आगामी दिनमा डिजिटल बैंकिङ सेवाको विकासमा बैंक अझै आक्रामकरूपमा प्रस्तुत हुने लक्ष्य बैंकले लिएको जनाएको छ ।