लन्डन/पेरिस । एक रुसी अर्बपतिले रुसले युक्रेनमाथि गरिरहेको महिना दिनयताको आक्रमणलाई राष्ट्रपति भ्लादिमिर पुटिनको पागलपनको संज्ञा दिएका छन् । अर्बपति तथा ठूलो रुसी डिजिटल बैंकका संस्थापक ओलेग टिनकोभले आफ्नो देशले छिमेकी देशमाथि गरिरहेको आक्रमणको चर्को आलोचना गरेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण थालेको झण्डै दुई महिना हुनलागेको छ । यसक्रममा हजारौँ युक्रेनी सर्वसाधारणको मृत्यु भएको छ भने उत्तिकै संख्यामा घाइते भएका छन् । त्यस्तै दशौँ लाख युक्रेनी अन्य देशमा शरण लिन बाध्य भएका छन् । सन् २००६ मा टिनकोफ बैंकको स्थापना गरेका रुसी उद्यमीले मंगलबार इन्स्टाग्राममा पोस्ट गर्दै ९० प्रतिशत रुसी नागरिक यस आक्रमणको विरोधमा रहेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘यो बहुलठ्ठी युद्धले कुनै फाइदा हुने देख्दिनँ ।’
मार्च २४ मा बेलायतले युक्रेनमाथि रुसको अवैध आक्रमणलाई सघाएको भन्दै प्रतिबन्धित गरेका ६५ व्यक्तिमध्ये टिनकोभ पनि एक हुन् । टिनकोफ बैंकको मातृकम्पनी टीसीएस ग्रुपमा उनले ३५ प्रतिशत सेयर स्वामित्व लिएका छन् । उक्त सेयर हिस्सा साढे तीन अर्ब अमेरिकी डलरबराबर भएको ब्लुमबर्गको अर्बपति सूचकांकले देखाएको छ । पश्चिमा देशले प्रतिबन्ध लगाएसँगै रुसी सञ्चितिको तीन खर्ब डलरजति फ्रिज भइसकेको छ भने अर्थतन्त्र मन्दीउन्मुख भएको छ । त्यस्तै दर्जनौँ विश्व व्यवसायहरु रुस छोडिसकेका छन् भने युरोपेली संघले रुसी विमान र विमान कम्पनीलाई आफ्नो एयरस्पेस प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।
उनले लेखेका छन्, ‘क्रेमलिनका सरकारी अधिकारी नै आश्चर्यमा होलान् किनकि उनीहरुमात्र होइन उनीहरुका छोराछोरी समेत मेडिटेरानियनमा यो समरमा जान पाउनेछैनन् । व्यवसायीहरु बाँकी रहेको आफ्नो सम्पत्ति जोगाउने हरतरहको प्रयासमा छन् ।’
उनले १० प्रतिशतले मात्रै युद्धमा समर्थन गरेको भन्दै रुसी ट्यांकमा लेखिएको जेट अक्षर लेख्नेलाई मूर्खहरुसम्म भनेका छन् । रुसी भाषामा पोस्ट गरेका उनले अन्त्यमा अंग्रेजी भाषामा पुटिनलाई स्पष्ट रुपमा बाहिरिन दिएर अनुहार जोगाउने मौका दिन र यो हत्याकाण्ड रोक्न मद्दतका लागि अपिल गरेको सीएनएनले जनाएको छ ।
टिनकोभले अन्य व्यवसायी उद्यमीले जस्तै युद्ध रोक्ने अपिल गरेका हुन् । रुसी तेल कम्पनी लुकोइलले युक्रेन संकट अन्त्यको आह्वान गरेको छ । त्यस्तै रुसी धनाढ्यहरु मिखाइल फ्रिडम्यान र ओलेग डेरिपास्काले पनि फेब्रुअरीको अन्त्यतिरै संघर्ष अन्त्यको आह्वान गरेका थिए ।