अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्रको वृद्धिदर अनुमान घटाएको छ । उसले रुसले युक्रेनमाथि गरेको आक्रमणलाई कारण मान्दै आगामी दुई वर्षको विश्व आर्थिक वृद्धिदर अनुमान घटाएको हो । युक्रेनमाथिको रुसी आक्रमण विश्व अर्थतन्त्रमा ‘भुइँचालो’सरह भएको आईएमएफले जनाएको छ । ‘युद्धको आर्थिक प्रभाव ठूलो र व्यापक रुपले फैलिरहेको छ’, आईएमएफले मंगलबार भनेको छ ।
कोषका अनुसार सन् २०२२ र २०२३ मा विश्व अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै विस्तार हुने अनुमान छ । जुन सन् २०२१ को ६.१ प्रतिशतको वृद्धिदरबाट धेरै तल हो । नयाँ वृद्धिदर अनुमान जनवरीमा गरेभन्दा क्रमशः ०.८ प्रतिशत र ०.२ प्रतिशतले कम हो ।
त्यस्तै विश्व बैंकले समेत यही हप्ता विश्व आर्थिक वृद्धिदर अनुमान घटाएको थियो । सन् २०२२ मा आर्थिक वृद्धिदर मात्र ३.२ प्रतिशतले हुने उसको अनुमान छ । आईएमएफले रुसमाथि लगाइएका प्रतिबन्धले उसको ऊर्जा क्षेत्रलाई लक्षित नगरेको बताएको छ । तर उक्त संकटको भागिदार सम्बन्धित दुवै देशको अर्थतन्त्र हुने उसको अनुमान छ । आईएमएफले यो वर्ष युक्रेनको अर्थतन्त्र ३५ प्रतिशतले संकुचित हुने बताएको छ । त्यस्तै पश्चिमा प्रतिबन्धको निशानामा परेको रुसको अर्थतन्त्र साढे आठ प्रतिशतले संकुचित हुने बताएको छ । तर उक्त युद्धले ऊर्जाजन्य र अन्य वस्तुको मूल्यवृद्धि भएको, आपूर्ति प्रणालीमा समस्या निम्त्याएको र महंगी बढेकोले सबैतिर यसको अनुभूति भएको जनाइएको छ ।
‘यो युद्ध विश्व आर्थिक पुनरुत्थानमा गम्भीर धक्का हो, यसले वृद्धिदरमा असर पर्नुका साथै महंगी वृद्धि थप बढ्नेछ’, आईएमएफले भनेको छ । कोरोना महामारीबाट अझै पनि विश्व अर्थतन्त्र तंग्रिन नसकेकोमा फेब्रुअरीको अन्त्यतिर रुसले युक्रेनमा आक्रमण थालेको थियो । आईएमएफले युरो क्षेत्रको आर्थिक वृद्धिदर यो वर्ष २.८ प्रतिशत हुने जनाएको छ । जुन जनवरीमा गरेको अनुमानभन्दा १.१ प्रतिशतले कम हो ।
आईएमएफले यो वर्ष अमेरिकाको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने र अर्को वर्ष २.३ प्रतिशत हुने अनुमान गरेको छ । जुन उसको पछिल्लो अनुमानको ०.३ प्रतिशतले कम हो । त्यस्तै यो वर्ष चीनको आर्थिक वृद्धिदर ४.४ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । बेइजिङको आधिकारिक लक्ष्य भने ५.५ प्रतिशत रहेको छ ।