काठमाडौं । राजधानीको काठमाडौं मेडिकल कलेज (केएमसी)ले फिजियोथेरापी पुनर्स्थापना केन्द्र सुरु गरेको छ । १५ वर्षदेखि फिजियोथेरापी सञ्चालन गर्दै आएको केएमसीले भक्तपुरको दुवाकोटस्थित केएमसीमा अत्याधुनिक उपकरणसहित फिजियोथेरापी पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएको हो । यो सेवा सिनामंगलमा ओपीडी तथा अन्तरंग सेवामा पनि उपलब्ध छ ।
अत्याधुनिक प्रविधि तथा दक्ष चिकित्सकहरुसहितको फिजियोथेरापी पुनर्स्थापना केन्द्रमा जटिल प्रकारको उपचारमा रहेका बिरामीहरुलाई विशेष फिजियोथेरापी सेवाहरु दिइनेछ । केएमसीका फिजियोथेरापी विभागका विभागीय प्रमुख डा. प्रकाश महतोको अनुसार फिजियोथेरापी पुनस्र्थापना केन्द्रमा हाडजोर्नी भाँचिएर सर्जरी गरेका, मेरुदण्डको साधारण तथा जटिल शल्यक्रिया गरेका, हातको जटिल प्रकृतिको शल्यक्रिया गरेका, अर्थोस्पिक सर्जरी गरेका बिरामीहरुलाई सेवा दिइनेछ ।
यसैगरी न्युरोलोजीसम्बन्धी रोग लागेका, टाउको तथा मस्तिष्कमा गम्भीर चोट लागेका, प्लाष्टिक सर्जरी गरेका, छाती तथा मुटुरोगसम्बन्धी रोगहरुको फिजियोथेरापी दिई उपचार गराउनु पर्ने बिरामीहरुले पुनस्र्थापना केन्द्रबाट सेवा लिन सक्नेछन् । त्यस्तैगरी, आवश्यक परेमा आईसीयू, एनआईसीयूमा उपचाररत बिरामीहरुलाई समेत यो सेवा दिइनेछ । भने, शारीरिक विकास ढिलो भएका जस्तैः बामे सर्न वा हिँड्न ढिलो गरेका, हात खुट्टा कमजोर भएका बच्चाहरुलाई समेत चिकित्सकको परामर्शमा सेवा दिइने व्यवस्था गरिएको छ । यसका अलावा खेलकुदबाट हुने चोटपटकसम्बन्धी फिजियोथेरापी सेवा पनि दिइनेछ । यी सबै सेवाहरु केएमसीको ओपीडी तथा अन्तरंग सेवाहरुमा उपलब्ध रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
विराटनगरमा नोबेल मेडिकल कलेज सञ्चालन गरेर पूर्वी नेपालमा उत्कृष्ट स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्रदान गर्दै आइरहेका डा. सुनिल शर्माको दुई वर्षअघि प्रवेश भएसँगै केएमसीको स्वास्थ्य सेवालाई अत्याधुनिक र प्रविधिमैत्री बनाउँदै लगिएको छ । केएमसीमा अब जस्तोसुकै जटिल प्रकारका रोगहरुको दक्ष जनशक्ति तथा अत्याधुनिक उपकरणबाट उपचार हुने बताइएको छ । यसबाट राजधानी तथा विदेशमा महंगो शुल्क तिरेर उपचार गर्न जानुपर्ने बाध्यता कम हुँदै गएको छ ।