अमेरिका । विश्व बैंकले युक्रेनमाथि रुसले गरेको आक्रमणले मानवीय दुर्घटना निम्त्याउने गरी खाद्य संकट आउनसक्ने चेतावनी दिएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले युद्ध तत्काल नरोकिए समाधान बढ्दो खाद्यान्न मूल्यले सयौँ दशौँ लाख मानिसलाई गरिबीमा धकेल्ने बताएका हुन् ।
विश्व बैंकको अनुमानमा खाद्य क्षेत्रको मूल्य ३७ प्रतिशतसम्मले बढ्न सक्नेछ । यसले विश्वका गरिब मानिसहरुलाई कठिन बनाउनेछ । बीबीसीसँगको अन्तर्वार्तामा उनले युक्रेन संकटसँगै कोरोनाको प्रभाव पनि बाँकी रहेकाले गरिबी बढ्ने र खाद्य संकट गहिरिने बताए ।
‘यो मानवसिर्जित दुर्घटना हो अर्थात् पोषणको अभाव हुनेछ । त्यसपछि राजनीतिक रुपमा पनि सरकारहरुले यसलाई रोक्न सक्नेछैनन्’, वासिङटनमा आईएमएफ र विश्व बैंकको बैठकको दौडान साइडलाइन अन्तर्वार्तामा उनले भनेका छन्, ‘उनीहरुको कारण यो स्थिति आएको होइन तर उनीहरुलाई नै मूल्यवृद्धिको मार परेको छ ।’
उनका अनुसार मूल्यवृद्धि व्यापक रुपले बढिरहेको र यसले धेरै वस्तुहरुमा फैलिएको छ । उनले विश्वमा गरिबलाई खुवाउने प्रशस्त खाद्यान्न भए पनि त्यसका लागि बाँड्ने र बिक्री गर्ने प्रक्रिया आवश्यक रहेको बताए । विश्वभर मल र खाद्यान्न आपूर्ति बढाउनुपर्ने खाँचो रहेको उनले बताएका छन् ।