काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद मुनाफा उत्साहजनक देखिएको छ । सिंगो वित्तीय प्रणालीमा नै लगानीयोग्य रकमको अभाव भएको अवस्थामा पनि बैंकले उत्कृष्ट व्यवस्थापकीय क्षमता देखाउँदै उत्साहजनकरुपमा नाफा कमाउन सफल भएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३७ करोड १८ लाख १२ हजार पाँच सय ९१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३५ करोड २५ लाख १३ हजार तीन सय १८ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार छ सय ६२ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४५ अर्ब ८४ करोड ५१ लाख ४५ हजार पाँच सय आठ रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८३ करोड ९५ लाख १८ हजार छ सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २५ करोड २६ लाख ९६ हजार सात सय ४८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ४२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने २५ करोड ५७ लाख ४९ हजार दुई सय ८७ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब चार करोड ४७ लाख ४८ हजार आठ सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८४ करोड ८९ लाख २७ हजार पाँच सय ७४ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १३ प्रतिशत रहेको थियो ।