काठमाडौं । आईएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ वार्षिक साधारणसम्पन्न भएको छ । सभामा सम्पूर्ण सेयरधनीहरूलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ–नयाँ सेवाहरूसहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
सभामा अध्यक्ष ढकालले विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरूको बीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापारघाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिति घट्दो अवस्थामा छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानीयोग्य पुँजी (तरलता)को अभाव चरम रहेको जानकारी गराए ।
सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७–०७८ मा बीमा प्रिमियम नौँ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको दुई रोपनी छ आना दुई पैसा तीन दाम जग्गा खरिद गरेको थियो । चालू आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको नौ तल्लाको भव्य भवन निर्माण गर्न नक्सा तयार गरी निर्माणकार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराए ।
कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागिर नियमनकारी निकायबाट समेत चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुयाउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशनबमोजिम पुँजी योजना बीमा समितिसमक्ष पेस गरिसकिएको जानकारी दिँदै हालको चुक्ता पुँजीको सात प्रतिशतको दरले बोनस सेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारणसभाबाट पारित भएको हुनाले उल्लिखित बोनस सेयर जारी भएपश्चात् कम्पनीको चुक्ता पुुँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार चार सय २० पुग्ने व्यहोरा जानकारी गराए ।
कम्पनीले २४औँ साधारणसभा समक्ष पेस गरेको सबै साधारण तथा विशेष प्रस्तावहरू सभाले स्वीकृत गरेकोमा सबै सेयरधनीहरूलाई धन्यवाद व्यक्त गरे । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ वार्षिक साधारणसभामा सम्पूर्ण सेयरधनीहरूलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहकहरू, लगानीकर्ता, नियमनकारी निकायहरू र कर्मचारी साथीहरूको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भइरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरूको भावना र सञ्चालक समितिको निर्देशनले अगाडि बढिरहेको जानकारी गराए ।
बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले सातवटै प्रदेशबाट ग्राहकहरूलाई बीमा सेवा प्रदान गर्दै आइरहेका छौँ । बीमा अर्थतन्त्रको एक उत्कृष्ट हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आइरहेको जानकारी गराए । आगामी दिनहरूमा शाखा विस्तारभन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अगाडि बढिरहेको ।
आव २०७६–०७७ मा एक अर्ब ३९ करोड ९४ लाख बीमाशुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा एक अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा नौ प्रतिशतले बीमाशुल्क वृद्धि भएको जानकारी गराए । उनले चालू आवको चैत्र मसान्तसम्ममा कम्पनीले कुल एक अर्ब २८ करोड ६१ लाख बीमाशुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।
श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको विषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालगायत स्वस्थ्य बीमालाई अगाडि बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पु-याउनको लागि सातवटै प्रदेशहरूमा शाखा विस्तार गरेको पनि जानकारी गराए । कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरू, आन्तरिक लेखापरीक्षणलगायत बीमा समितिबाट समय–समयमा प्राप्त निर्देशनहरूको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र स्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्नेगरी सूचना तथा सञ्चारमा विशेष ध्यान दिँदै डिजिटलमा विशेष ध्यान दिएको बताए ।
अन्त्यमा सञ्चालक समितिका अध्यक्ष ढकालले कम्पनीको २४औँ वार्षिक साधारणसभामा भाग लिई अमूल्य सुझावहरू दिने सेयरधनीहरूको आत्मीयता, न्यानो माया र विश्वासप्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, बीमा समितिलगायत नियमक निकायहरू तथा ग्राहकहरूप्रति धन्यवाद व्यक्त गरे ।