मस्को । विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागिताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णीत भएका छन् । उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरे पनि चाँडै निर्णय आउने अपेक्षा गरिएको छ । ‘उहाँले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउनेछौँ तर अहिलेसम्म भने कुनै निर्णय भएको छैन’, प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुलाई भने । विदेशी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाएका इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले रूसी राष्ट्रपति पुटिनसहितका सबै २० देशका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा पठाइसकेका छन् । विश्वचर्चित र चासोका साथ हेरिने जी–२० सम्मेलन आगामी नोभेम्बरमा इन्डोनेसियाको बालीमा आयोजना गर्ने तय भइसकेको छ ।