ब्रसेल्स । युरोपेली काउन्सिलले शनिबार घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्रीविरुद्ध लड्न नयाँ कानुनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ ।
डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानुनले डिजिटल स्पेसलाई गैरकानुनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ । काउन्सिल र संसद्का वार्ताकारहरूले इन्टरनेटलाई युरोपेली नागरिकहरूका लागि सुरक्षित ठाउँ बनाउन नयाँ नियमहरूको लागि अस्थायी पाठमा सहमति जनाएपछि यो सम्झौता भएको हो ।
शुक्रबारदेखि सुरु भएको वार्ता शनिबार बिहानसम्म चलेको थियो । अस्थायी राजनीतिक सम्झौता कानुन लागू हुनुअघि युरोपेली काउन्सिल र युरोपेली संसदले स्ट्याम्प लगाउनुपर्नेछ ।