नयाँ दिल्ली । सवारीसाधन निर्माता टाटा मोटर्सले पनि आफ्ना सवारीसाधनको मूल्यवृद्धि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टाटा मोटर्सका यात्रु गाडीको मूल्य औसत १.१ प्रतिशतले बढेको हो ।
कम्पनीले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्माण लागत बढेपछि यात्रु बोक्ने गाडीको मूल्य बढाउनुपरेको जनाएको छ । कम्पनीका अनुसार यो मूल्य शनिबारदेखि नै लागू भएको छ । यसअनुसार विभिन्न यो सेग्मेन्टका गाडीको औसत मूल्यवृद्धि १.१ प्रतिशत हुनेछ । कम्पनीले यसअघि नै निर्माण लागत बढेको भन्दै मूल्य बढाइसकेको छ । पछिल्लो केही महिनामा इस्पात र अन्य कच्चापदार्थको मूल्य बढेपछि गाडीको मूल्य पाँचदेखि आठ प्रतिशतले बढिसकेको छ ।
यो महिना कार खरिद गर्नेको लागि पनि निराशाजनक रहेको छ । धेरै कार कम्पनीहरुले आफ्ना गाडीको मूल्य बढाएका छन् । यसअघि महिन्द्रा एन्ड महिन्द्राले आफ्ना गाडीको मूल्य साढे दुई प्रतिशतसम्म वृद्धि गरेको थियो । यो भनेको कम्पनीका गाडीमा कम्तीमा १० हजार भारुदेखि ६३ हजार भारुसम्मको मूल्यवृद्धि हो । यसबाहेक मारुती सुजुकीले आफ्नो लाइनअपलाई महंगो बनाएको छ । मारुती सुजुकी इन्डियाले आफ्ना सबै मोडलको मूल्य बढाइसकेको छ ।
कम्पनीले गत सोमबार लागत बढेको भन्दै यस्तो निर्णय लिएको जनाएको छ । यसअनुसार सबै मोडलको औसत मूल्य १.३ प्रतिशतले बढेको बताइएको छ । पछिल्लो वर्ष जनवरीदेखि यता मारुतीले अहिलेसम्म पाँचपटक मूल्य बढाइसकेको छ । सन् २०२१ जनवरीदेखि सन् २०२२ मार्चसम्म कम्पनीले गाडीको मूल्य लगभग ८.८ प्रतिशतले बढाएको छ ।