काठमाडौं । राजस्व अनुसन्धान विभागले करछलीमा संलग्न पाँच व्यवसायीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । व्यवसाय गरेबापत कानुनअनुसार लाग्ने कर नतिरेको भन्दै विभागले पाँच व्यवसायीविरुद्ध ३६ करोड ११ लाख ३७ हजार दुई सय ८६ रुपैयाँ बिगो र सजाय कायम गरी मुद्दा दर्ता गरेको हो ।
मुद्दा दायर गरिएकामा मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल र दिपेन्द्र कुमार अग्रवाल रहेका छन् । उनीहरुविरुद्ध १८ करोड ५ लाख ६८ हजार ६ सय ४३ रुपैयाँ बिगो कायम गरिएको छ । राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार उनीहरुले मूल्यअभिवृद्धि करतर्फ ५ करोड ४४ लाख ९३ हजार ३ सय ५३ रुपैयाँ, आयकरतर्फ १२ करोड ६० लाख ७५ हजार २ सय ९० रुपैयाँ नतिरेको विभागले जनाएको छ ।
सजाय हुने बिगो त्यति भए पनि कानुनअनुसार विभागले कानुनअनुसार बिगोको शतप्रतिशत जरिवानासहित मुद्दा दायर गरेको छ । दायर गरिएकामध्ये मनिष शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिंक, एचबी ट्रेड एन्ड सप्लायर्स र एमके इन्टरनेशनलका मुख्य कारोबारी समेत हुन् । त्यस्तै हितेष एचबी ट्रेड एनड सप्लायर्सका साझेदार तथा गणपतिका खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न हुन् । यता प्रमित महर्जन एमके इन्टरनेशनलका प्रोपाइटर हुन् भने बिमल एचबी ट्रेडका साझेदार हुन्। त्यस्तै दिपेन्द्र गणपतिका प्रोपाइटर रहेका छन् ।