काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी चारवटा हिमालहरूको सफाइ गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका टोलीहरू आ–आफ्नो आधार शिविरमा पुगेका छन् ।
नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरू योजनाअनुसार आ–आफ्नो आधार शिविरमा पुगेका हुन् । सफाइ अभियानअन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविरमा पुगेको नेपाली सेनाले जनाएको छ । आधार शिविरमा पुगेका टोलीहरूले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरेपश्चात् स्थानीय संस्कारअनुसारको पूजाआजा सम्पन्न गरेका छन् ।
बेस क्याम्प पुगेपछि उक्त टोलीहरूले फोहोर संकलन गर्ने कार्य पनि सुरु गरेको सेनाले जनाएको छ । हिमाल सफाइको कार्यमा खटिएका टोलीहरूले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरू र स्थानीयवासीहरूसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य जेठ २२ गतेसम्म सञ्चालन गर्नेछन् ।