काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले गरेको बदमासी र आर्थिक अनियमितताको समाचारहरु प्रकाशित गर्ने आर्थिक दैनिकलगायतका मिडियाका समाचारहरु सामाजिक सञ्जालमा सेयर गर्ने पाठकहरुलाई तर्साउनकै लागि प्रतिनिधिको रुपमा ललितपुरकी सम्पदा अधिकारकर्मी पृथविन्दु महर्जन र केशव पुरीविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा खारेज भएको छ ।
भण्डारीले प्रकाशित समाचार सेयर गर्ने महर्जन र पुरीविरुद्ध जिल्ला अदालत ललितपुरमा हालेको मुद्दा अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले खारेज गरेको हो ।
महर्जन र पुरीको तर्फबाट वकालत गरिरहेका अधिवक्ता जुजुकाजी महर्जनका अनुसार गत फागुन ११ गतेको पेशीमा सक्कल प्रमाण झिकाउने आदेश दिएको थियो । अधिवक्ता महर्जनसहितको सम्पदा अधिकारकर्मीहरुले बहसका क्रममा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई मुद्दा लड्ने अधिकार दिइएको भए पनि अदालतमा अर्कै व्यक्तिलाई मुद्दा दर्ता गर्न पठाइएको विषयमा आवाज उठाएका थिए ।
जिल्ला अदालतले श्री लालीगुराँस सहकारीबाट सक्कल माइन्युट झिकाउने आदेश गरेको थियो । तर, भण्डारीले सक्कल माइन्युट दिनुको सट्टा पछिल्लो पेसी नै स्थगित गराएका थिए । आइतबार जिल्ला अदालतमा अघिल्लो आदेशबमोजिम भण्डारीले सक्कल कागजात पेश नगरेपछि मुद्दाको विषयमै प्रवेश नगरी मुद्दा खारेज भएको महर्जनले बताए ।