काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १२ गते अर्थात् सोमबार पुनः१८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गरिएको हो । यसअघि यही वैशाख ५ गते पनि राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति वैशाख १३ गते अर्थात् आज मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ जेठ १० गते र ९१ दिनेको २०७९ साउन १० गते परिपक्व हुने अवधि तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार बिक्री भएका ती ट्रेजरीमा ९१ दिने अवधिको १३ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरीमध्ये पाँच अर्ब रुपैयाँ बराबरको नयाँ र आठ अर्ब ६० करोड रुपैयाँबराबरको पुरानो नवीकरण अन्तर्गतको रहेको छ । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।