काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार देशभर उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी दर्ताको म्याद तोके पनि अधिकांश गाउँ तथा नगरपालिकामा सोमबार मात्र उम्मेदवारी दर्ता भएको हो ।
काठमाडौंलगायत देशका छवटै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा प्रमुख दलहरुले सोमबार मात्र उम्मेदवारी दर्ता गरेका हुन् । यद्यपि केही स्थानीय तहमा आइतबार पनि उम्मेदवारी दर्ता भएको थियो ।
देशभर छ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिका गरी सात सय ५३ वटा स्थानीय तह छ । सात सय ५३ स्थानीय तहमा छ हजार सात सय ४३ वटा वडा छ ।
सबै स्थानीय तहमा ३० गते एकैदिन निर्वाचन हुनेछ । यद्यपि केही गाउँपालिका र वडाहरु जति पद निर्वाचन गर्नुपर्ने हो त्यतिले मात्र उम्मेदवारी दर्ता गरेका कारण निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने दिन आधिकारिक रुपमा निर्विरोध हुनेहरुको नाम सार्वजनिक गर्नेछ ।
देशभर छवटा महानगरपालिकाका प्रमुख र उपप्रमुख गरी १२ जना, ११ वटा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख २२ जना, दुई सय ७६ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख पाँच सय ५२ जना, चार सय ६० वटा गाउँपालिकाहरुमा प्रमुख र उपप्रमुख नौ सय २० जनासमेत सात सय ५३ स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एक हजार पाँच सय छ जना निर्वाचित हुनेछन् ।
त्यस्तै, छ हजार सात सय ४३ जना वडा अध्यक्ष र चार जनाको दरले २६ हजार नौ सय ७२ जना वडा सदस्य निर्वाचित हुनेछन् । निर्वाचनबाट प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी कुल ३५ हजार दुई सय २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले सोमबार राति ८ः३० बजेसम्म उपलब्ध गराएको तथ्यांकअनुसार ८२ हजार दुई सय १० जनाले उम्मेदवारी दिएको विवरण अद्यावधिक भएको छ । यद्यपि उक्त संख्या बढ्ने बताइएको छ । कतिपय स्थानबाट उम्मेदवारी दर्ताको विवरण नआइसकेको आयोगले जनाएको छ । उम्मेदवारी दर्ताबाट मात्र सात करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको अनुमान आयोगले गरेको छ । यद्यपि वास्तविक अंक भने उम्मेदवारहरुको अन्तिम संख्या प्राप्त हुँदा मात्र प्राप्त हुने जनाइएको छ । दलितलगायत केही वर्ग र समुदायका उम्मेदवारहरुले तोकेको शुल्कमा छुट पाउनेछन् ।
निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको आयोगले जनाएको छ । प्रदेशस्तरमा मनोनयन दर्ताको अवस्था हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा मनोनयनदर्ता भएको देखिएको छ । सो प्रदेशको प्रमुखमा ८३५, अध्यक्षमा ६०८, उपप्रमुखमा ४२४, उपाध्यक्षमा ३१६, वडा अध्यक्षमा ४७६१, महिला सदस्यमा ३०४६, दलित महिला सदस्यमा २९२१, खुला सदस्यमा ६१९० गरी जम्मा १९ हजार १०१ जनाको मनोनयन दर्ता भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२ र खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ ।
लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२, खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ । सोहीअनुसार प्रदेश १ मा १४ हजार ९३४ जनाले मनोनयन दर्ता गराएका छन् । सो प्रदेशको प्रमुखमा ३३३, अध्यक्ष ४३१, उपप्रमुख २२७, उपाध्यक्ष ३४६, वडा अध्यक्ष ३५४४, महिला सदस्य २५३५, दलित महिला सदस्य २२१८ र खुला सदस्यमा ५३०० मनोनयन दर्ता भएको छ ।
त्यस्तै, बागमती प्रदेशमा जम्मा १३ हजार २९४ जनाले मनोनयन दर्ता गरेका छन् । सो प्रदेशको प्रमुख ४१६, अध्यक्ष ४३२, उपप्रमुख २४४, उपाध्यक्ष २७३, वडाध्यक्ष ३४१२, महिला सदस्य २१४३, दलित महिला सदस्य १७७७ र खुला सदस्य ४५९७ मनोनयन दर्ता भएको छ ।
सोहीअनुसार गण्डकी प्रदेशमा ६ हजार ५९३ मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा १५७, अध्यक्षमा १९७, उपप्रमुखमा ९२, उपाध्यक्ष १५६, वडाध्यक्ष १५८८, महिला सदस्य १०७९, दलित महिला सदस्य ९६८, खुला सदस्य २३५६ मनोनयन दर्ता भएको छ । कर्णाली प्रदेशमा जम्मा ६ हजार ६१८ उम्मेदवारी परेको छ । सो प्रदेशको प्रमुखमा १३५, अध्यक्ष २१७, उपप्रमुख ११५, उपाध्यक्ष १८७, वडाध्यक्ष १७३६, महिला सदस्य १०८२, दलित महिला सदस्य ९२० र खुला सदस्य २२२६ मनोनयन दर्ता परेको छ ।
सुदूरपश्चिम प्रदेशमा जम्मा ६ हजार ९०८ मनोनयन दर्ता भएको छ । सो प्रदेशमा प्रमुखमा १६८, अध्यक्ष १७६, उपप्रमुख १२५, उपाध्यक्ष १२९, वडाध्यक्ष १७१२, महिला सदस्य ११६३, दलित महिला सदस्य १०५५ र खुला सदस्य २३८० मनोनयन दर्ता भएको छ । आयोगका अनुसार सातवटै प्रदेशको जम्मा प्रमुखमा २ हजार ३४३, अध्यक्ष २ हजार ४९७, उपप्रमुख १ हजार ४४५, उपाध्यक्ष १ हजार ७२६, वडाध्यक्ष २ हजार १७६, महिला सदस्य १३ हजार ५५४, दलित महिला सदस्य १२ हजार १८१ र खुला सदस्य २८ हजार २८८ जनाको मनोनयन दर्ता भएको छ ।