काठमाडौं । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र प्रमुख विपक्षी दल नेकपा एमाले नेतृत्वको गठबन्धनका बीचमा नै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
अधिकांश स्थानीय तहमा दलहरूले आफूअनुकूल गठबन्धन गरेका छन् भने केही स्थानीय तहमा एक्लाएक्लै पनि प्रतिस्पर्धामा उत्रिएका छन् । विशषगरी देशभरमा रहेका छवटा महानगरको निर्वाचनलाई चासोको रूपमा हेरिएको छ । यी पाँच महानगरहरूमा पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ दल कांग्रेसको गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको गठबन्धनबीच नै हुनेछ । राजधानी उपत्यकामा रहेको काठमाडांै महानगरपालिकामा सत्ता गठबन्धनले साझा उम्मेदवार चयन गरेको छ भने प्रतिपक्षी दल एमाले एक्लै निर्वाचनमा होमिएको छ ।
गठबन्धनले कामपाको मेयरमा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । सत्ता साझेदार दलका तर्फबाट उनीहरूले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा एमालेले कामपाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता ढंगोललाई उम्मेदवार बनाएको छ । यस्तै, ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन् । ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दिएका छन् ।
यसैगरी विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर महानगरपालिकामा एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाएको छ । यस्तै, वीरगञ्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा जसपा नेपालका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् । यहाँ भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग गठबन्धन गरेको छ । वीरगञ्जमा मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपा नेपालका पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् ।
भरतपुर महानगरपालिकामा भने सत्तारुढ गठबन्धनले मेयरमा नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । भरतपुरमा पनि एमालेले गठबन्धन गरेको छ । भरतपुरमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको हो ।
गठबन्धनअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन् । यता पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् । पोखरामा नेकपा एमालेले भने मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।