दोलखा । भूकम्प गएको सात वर्ष बितिसक्दा समेत भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण हुन नसकेका कारण अझै सयौं विद्यार्थीहरू जस्तापाताका अस्थायी टहरामा बसेर पढ्न विद्यार्थी बाध्य छन् ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएका जिल्लाका सामुदायिक विद्यालयको पुनर्निर्माण अझै पूरा हुन सकेको छैन । स्वदेशी लगानीमा निर्माण सुरु भएका विद्यालयको पुनर्निर्माण सकिए पनि विदेशी दातृ निकायमा निर्माण सुरु गरिएका एक दर्जन विद्यालयको पुनर्निर्माण भने पूरा हुन नसकेका हुन् । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण सुरु भएका दर्जन हाराहारीको संख्यामा रहेका सामुदायिक विद्यालयको काम बीचमै अलपत्र अवस्थामा रहेका छन् । जिल्लाका १० वटा सामुदायिक विद्यालयको पुनर्निर्माण हालसम्म पनि सम्पन्न हुन नसकेको हो । जिल्लाको बैतेश्वर गाउँपालिमा रहेकोे कालिढुंगा माध्यामिक विद्यालयको भवन निर्माण सुरु गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन नसकेको विद्यालयका प्रधानाध्यापक पुस्कर कुमार दाहालले बताए ।
२०७२ को भूकम्पले पूर्ण क्षति पु-याएको यस विद्यालयको सम्झौता अवधि सकिए पनि अझै विद्यालयको पुनर्निर्माण हुन नसकेको उनको भनाइ छ । हालसम्म विद्यालयको ७० प्रतिशत मात्र काम सकिएको छ । चैत मसान्तसम्म निर्माण सक्ने जनाएको कम्पनीले सम्झौताको म्याद सकिँदा समेत विद्यालयको निर्माण अलपत्र पारेर छाडिदिएको हो । विद्यालयका नयाँ संरचना निर्माण नहुँदा सात वर्षदेखि पठनपाठन अस्थायी टहरोमै सीमित भएको उनले बताए । विद्यालय निर्माण नहुँदा वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मतदान केन्द्र राख्न समेत समस्या भएको उनले बताए । बैतेश्वर गाउँपालिका वडा नम्बर ३ को मतदानस्थल कालिढुंगा माध्यामिक विद्यालय हो ।
यता गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा रहेको क्षत्रावती माध्यामिक विद्यालयको पनि पुनर्निर्माण पूरा हुन सकेको छैन । दुई वर्षअघि सुरु भएको भवन निर्माणको काम अहिले अलपत्र अवस्थामा रहेकोे छ । क्षेत्रवती माध्यामिक विद्यालयमा निर्माण सामग्री एउटा कम्पनीले दिने अर्कोले विद्यालय निर्माण गर्ने कार्यले पनि निर्माण अलपत्र अवस्थामा पुगेको विद्यालयले जनाएको छ ।
भूकम्पका कारण क्षतिग्रस्त भएका तीन सय ६३ विद्यालयमध्ये अधिकांशको विद्यालयको पुनर्निर्माण सकिएका छन् । तर भारत सरकारको लगानीमा निर्माण सुरु गरिएका विद्यालयको काम भने अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको कालिनाग मावि, भीम मावि, कालिढुंगा, कालपानी, शान्ति आदर्श मावि, मानेडाँडा मावि, दुर्गा मावि, गुप्तेश्वर मावि, क्षेत्रावती मावि र कालिञ्चोक माविको भवन निर्माणको काम पनि अझै पूरा हुन सकेको छैन । यी विद्यालयको निर्माण अवधि सकिए पनि भवन निर्माणको काम ७०–८० प्रतिशत मात्र सकिएको छ ।