अमेरिका । सोमबार न्युयोर्क स्टक एक्सचेन्जमा सुरुवाती कारोबारमा सामाजिक सञ्जाल ट्विटरको सेयर मूल्य चार प्रतिशत बढीले वृद्धि भएको छ । अर्बपति इलोन मस्कले ट्विटर किन्ने सम्झौता हुने अन्तिम चरणमा पुगेको खबरसँगै सेयरबजारमा मूल्य आकाशिएको हो ।
ट्विटरको बोर्ड पदाधिकारीले मस्कसँग यही खरिदबिक्रीबारे छलफल गरेको बताइएको छ । उनले ४३ अर्ब डलरमा ट्विटर खरिद गर्न चाहेका छन् । ट्विटरले यसअघि भने मस्कको अफरलाई नस्वीकार्ने संकेत गरेको थियो । तर ब्लुमबर्गले सोमबार नै किनबेच सम्झौता हुनसक्ने समाचार सार्वजनिक गरेको थियो । समाचारमा उक्त सम्झौताका लागि अन्तिम चरणको छलफल भएको उल्लेख छ । यता रोयटर्सले पनि सोमबार नै यसबारे घोषणा हुनसक्ने जनाएको छ ।
योसँगै ट्विटरको सेयर चार प्रतिशतले बढेर ५०.६२ डलर प्रतिकित्ता मूल्य पुगेको छ । मस्कले भने प्रतिकित्ता ५४.२० डलर प्रतिकित्ता मूल्यमा ट्विटरको आफूले लिइसकेको बाहेक सबै सेयर खरिद गर्ने जनाएका छन् । अप्रिलको सुरुतिर मस्कले ट्विटर किन्ने प्रस्ताव गरेका थिए । उनी विद्युतीय कार टेस्ला र स्पेस एक्सका मालिक हुन् । उनले ट्विटरको ९.२ प्रतिशत सेयर किनिसकेका छन् । सोसँगै अहिले उनी ट्विटरको ठूलो लगानीकर्ता छन् । ठूलो लगानीकर्ता बनेपछि उनलाई ट्विटरको बोर्डमा निम्त्याइए पनि उनी गएनन् ।
उनले ट्विटर खरिद गर्ने बताएपछि त्यसलाई ट्विटर बोर्डले थप जटिल बनाएको थियो । तर उनले केही दिनअघि मात्र आफूसँग ट्विटर खरिद गर्ने रकमको जोहो गरिसकेको बताएका थिए । उनले बैंकहरुसँग साढे ४६ अर्ब डलर ट्विटर खरिदका लागि तयार पारेको बताएका थिए । उनले ट्विटर थप खुल्ला र पारदर्शी हुनुपर्ने वकालत गर्दै आएका छन् ।